धनकुटा, ४ माघ । पूर्वका ६ जिल्लाका सुरक्षा समितिको बैठक पाख्रिवासमा सम्पन्न भएको छ । सो बैठकले नेकपा माओवादी विप्लव समूहको गतिविधिलाई निस्तेज बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाईने लगायतका निर्णय गरेको जनाएको छ ।
पख्रिबास नगरपालिका ४ स्थित कृषि अनुसन्धान केन्द्रमा सम्पन्न बैठकले पूर्वी क्षेत्रमा प्रतिवन्धित विप्लव समूहको गतिविधि बढ्दै गएकाले उनीहरुको गतिविधिलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति तयार गरेको जनाएको भनाई छ ।
सो सुरक्षा बैठकमा धनकुटालगायत कोशी अञ्चलका तेह्थुम, संखुवासभा, भोजपूर, सुनसरी र मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागिता रहेको थियो । यस्तै नेपाली सेनाका पृतना एवं बाहिनी तथा जिल्लास्थित गुल्म गणका प्रमुखहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका क्षेत्रीय एवं जिल्लास्थित प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा सबै जिल्लाको सरक्षा अवस्था बारेमा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो ।
बैठकले विप्लव समूहको गतिविधिका साथै सामाजिक कार्यमा सक्रियता बढाउने निर्णय गरेको छ । यस्तै युवा समुदायमा दुव्यर्सन बढ्दै गएको लागूऔषध ओसारप्रसारमा नियन्त्रण, सडक अबरोध र दुर्घटना न्युनिकरण, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने लगायतको निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए ।
राष्ट्रिय अनुसन्धान एवं नेपाल प्रहरीले प्राप्त गरेका सूचनामा आधारित भएर तत्काल कार्यक्रम बनाई कार्यान्वयन गरिने भएको छ । प्रजिअ डा. घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला सीमा क्षेत्रको बढी निगरानी गर्ने र जोडिएका जिल्लाहरुमा सूचना आदनप्रदानलाई थप सहज बनाईने निर्णय समेत भएको जनाईएको छ ।