धनकुटा ५ माघ । सरकारले ल्याउन लागेको विवादास्पद सूचना प्रविधि र विशेष सेवा विधेयकको नेपाली कांग्रेस धनकुटाले विरोध जनाएको छ । पार्टीले सो विधेयकको विरोध गर्दै जिल्ला प्रशासनमार्फत नेपाल सरकार समक्ष विरोधपत्र पठाएको छ ।
सो विधेयकले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुंठित गर्ने भन्दै विरोध जनाउनु परेको उपसभापति नवीनकिशोर शाक्यले बताए । उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता भन्दै वर्तमान कम्युनिष्ट सरकारले यहि स्वतन्त्रता कुंठित पारेर अधिनायकवाद लाद्न लागेको आरोप लगाए ।
यस्तै सचिव विजयसन्तोषी राईले सरकारले जवरजस्ती ढंगले नेपाली जनतालाई स्वतन्त्रतापूर्वक बोल्न र लेख्न नदिनका लागी सम्वन्धित समितिबाट सूचना तथा संचार प्रविधि ऐन पारित गर्दै प्रतिनिधि सभामा लान लागेकोले त्यसको विरोध गरेको बताए । उनले यसकै विरोधमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत नेपाल सरकार समक्ष ज्ञिापनपत्र पठाएको बताए ।
सो ज्ञापनपत्र प्रशासकीय अधिकृतहरु जयराम श्रेष्ठ र रामनारायण श्रेष्ठलाई बुझाईएका थिए । ज्ञापनपत्र कांग्रेस उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु रविन्द्र नेपाली, लेखनाथ पौडेल, खेम पौडेल, क्षेत्रीय सभापति इन्दिरा थापा, सदस्य नरेन्द्रजंग बस्नेत, धनकुटा नगर सभापति रोशन श्रेष्ठ, छथरजोरपाटी गाउँपालिकाका सभापति छत्र सुब्बा, नेपाल महिला संघकी निर्वतमान केन्द्रिय सदस्य टिका भण्डारी, तरुण दलका उपाध्यक्ष युवराज पराजुली, सचिव नरेन्द्र कस्चित, क्षेत्रीय अध्यक्ष तिलक महतले ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा संसदबाट जवरजस्ती उक्त विधेयक पास गर्न प्रक्रिया अगाडि बढाए सशक्त आन्दोलन गर्ने सचिव विजयसन्तोषी राईले बताए ।