धनकुटा १० माघ । नेपाल नेत्रज्योती संघले संचालन गरेको डा. राम प्रसाद आखा अस्पतालको आँखा उपचार सेवालाई अझ स्तरीय बनाउदै कोशी पहाडकै उपचार केन्द्रको रुपमा संचालन गर्नुपर्ने बताए । सो कुरा आज संघको कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
सो कार्यक्रममा पूर्वमन्त्री तथा संविधान सभा सदस्य सुनिलबहादुर थापाले आँखा जस्तो संवेदनशील अंगको रुपमा रहेकाले आँखाको उपचारलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिदै अस्पतालबाट भैरहेको सेवालाई अझ प्रभकारी र स्तरीय बनाउन आफुले सहयोग गर्ने आश्वासन दिए । उनले जापानी राजदूतलाई भनेर जिल्ला अस्पतालमा अक्जिन प्लान्ट राख्न सहयोग गरेको उल्लेख गर्दै आँखा अस्पतालका लागि पनि सक्ने सहयोग गर्न तयार रहेको बताए ।
नेपाल अर्वुद्ध रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) ले गुणस्तरमा ध्यान दिए यो कोशी पहाडवासीलाई लाभकारी हुने बताए । उनले जिल्ला अस्पताले महिलामा हुने पाठेघर सम्बनिध क्यान्सरको परिक्षणका लागि स्टाफ नर्स पठाए तालिम दिने जानकारी दिए । उनले अस्पतालको सेवा विस्तारमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए ।
सो अवसरमा संघका अध्यक्ष रोशेष श्रेष्ठले अस्पतालको भावी योजनाका वारेमा जानकारी दिएका थिए । उनले अस्पतालको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि आवश्यक सहयोगका लागि पूर्वमन्त्री तथा अवुर्द रोग निवारण संस्थाका अध्यक्षसँग आग्रह गरेका थिए । सो अवसरमा अस्पताल समितिका संयोजक लिला मिश्रले अस्पताल गरिरहेको सेवाका वारेमा जानकारी दिएका थिए ।
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले ऐतिहासिक जिल्ला धनकुटा प्रदेश राजधानी नभएपछि मृत अवस्थामा रुपान्तरण भैरहेको अवस्थामा यसको भौगोलिकता, मौसमलाई मध्यनजर राख्दै स्वास्थ्य उपचारको हव बनाउन देशविदेशमा रहेको धनकुटेलीहरुले पहल गर्नुपर्ने बताए । यस्तै जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट विश्वकर्माले अस्पतालमा स्थापना गर्दै गरेको अक्सिजन प्लान्टको वारेमा जानकारी दिए । सो अवसरमा संघका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, संघ शिविर व्यवस्थापन तथा प्रचार प्रसार समितिका संयोजक विजयसन्तोषी राई, सदस्य रेणु श्रेष्ठलगायतले सुझाव दिएका थिए ।
संघका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका नेत्र सहायक डोनराज गुरुङ्गलगायत स्वास्थ्यकर्मीहरुले अस्पतालको प्राविधिक पक्ष वारे जानकारी गराएका थिए । सो अवसरमा पूर्वमनत्रीको आँखा जाँचसमेत गरिएको थियो ।