—ठाकुरप्रसाद बराल
सार
पृथ्वीनारायण शाहले हिमाली तथा केही तराईका क्षेत्रका ससाना राज्यहरुलाई एकीकरण गर्ने क्रममा कतिपयले उनीहरुको नाम व्यक्तित्व गुमाए भने कतिपयले आफ्नो साख झनै बढाए । उनका पदचाप पछ्याउनेहरुले समेत तिनका सामाजिक,आर्थिक,धार्मिक,साँस्कृतिक तथा प्रशासकीय अवस्थाहरु कतिपय यथावत राख्न सके भने कतिपय परिवर्तित समय अनुसार परिवर्तन समेत भए । ती भाग्यशाली राज्यमा पूर्वका विजयपुर, चैनपुर, धनकुटा र इलाम समेत पर्दछन् । कहिले पाल्पा, कहिले मकबानपुर, कहिले केन्द्रीय नेपाल त कहिले सिक्किम, भुटान मात्र हैन तिव्वत समेतको बारम्वार आक्रमण सहँदै आएका यी राज्यहरु अन्त्यमा विशाल नेपाल अभियानमा समाहित भए । तर पनि यिनीहरुको आफ्नै साख र पहिचान यथावत नै छ । पछिल्लो समय चौदण्डी राज्यका अंगका रुपमा रहेका यी क्षेत्रले अहिले पनि नेपालको महत्वपूर्ण साँस्कृतिक,आर्थिक तथा सामरिक महत्व राख्दछन् । यी क्षेत्रलाई समय अनुसार विभिन्न नाम पनि दिएको पाइन्छ ।
मुख्य शव्दहरु ः मुहुडा, गौंडा, अड्डा, खलङ्गा, गोला ।
पृष्ठमूमि
धनकुटा नेपाल एकीकरण पश्चात् तीव्रगतिमा स्थापित पूर्वको महत्वपूर्ण केन्द्र हो । यस गौरवमय भूमिले समयको गति सँगसँगै यसलाई दिइएका जिम्मेवारी अनुसार विभिन्न नामहरु पनि प्राप्त गर्न थाल्यो । ती नामहरु र तिनका कार्यहरुका वारेमा नामसँगै विश्लेषण गर्नु जरुरी हुन समेत आएको छ । ती नामहरु किन दिइयो र त्यसमा के काम हुने गर्दथ्यो ? अहिले सम्म खासै खोजको विषय वन्न सकेको छैन । त्यसका निम्ति छुट्टै अन्वेषणको आवश्यकता बोध हामीमा हुनु पर्दछ भन्ने चिन्तनले नै यो विषयको उठान भएको हो ।
विषय वस्तुको विश्लेषणः
धनकुटाको बहुआयामिक साँस्कृतिक,आर्थिक,भौतिक तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा वहादुर शाह, भीमसेन थापा, माथवरसिंह थापा,वीर शमसेर समेतले महत्वपूर्ण भूमिका निभाएको कुरा विर्सन हुँदैन । जसको कारण धनकुटाले विस्तारै क्षेत्रीय स्तरको राजधानी सम्मको रुप लिन पुग्यो । वीर शमसेरले त धनकुटालाई गांैडाका नाममा केन्द्र नै वनाइदिए ।
यस क्रममा धनकुटाले मुहुडा, गांैडा, अड्डा, खलङ्गा, गोला जस्ता शव्द ग्रहण गर्ने गरेको विभिन्न स्रोतहरुमा पाइन्छ ।
अधिकारी (१९८४) का अनुसार वि सं १८५८मा केन्द्रले धनकुटाका पदाधिकारीहरुलाई पत्र पठाउँदा मुहुडा शव्दले धनकुटालाई सम्वोधन गरिएको पाइएको छ । मुहुडा भन्नाले धनकुटा पूर्वको प्रवेशद्वार वा ढोका भन्ने बुझिन्छ । त्यसैगरी वि सं १९२०मा पनि धनकुटाका प्रशासक दीपबहादुर कुँवर जंगबहादुर राणालाई लेखिएको पत्रमा रणोद्दीपले धनकुटालाई मुहुडा शव्दले नै सम्वोधन गरेको पाइएको छ ।
अधिकारी (१९८४ः२०७) कै अनुसार त्यतिवेला पाल्पालाई पनि मुहुडा शव्द नै प्रयोग भएको पाइन्छ । जुन कुरा पाल्पाका बडाहाकिम खड्गबहादुर कुँवर राणाजीलाई वि सं १९०६मा पठाइएको पत्रमा उल्लेख छ । जसरी पाल्पालाई मुहुडा तथा अड्डा भनिन्थ्यो त्यसरी नै धनकुटालाई पनि मुहुडा तथा अड्डा भन्ने गरिन्थ्यो ।
बराल,वस्नेत (२०६१ः१६) का अनुसार वि सं १९२०मा केन्द्रले स्थानीय प्रशासकलाई लेखिएको एउटा सामग्रीमा खलङ्गा भन्ने शव्द प्रयोग गरेको पाइन्छ । खलङ्गा भन्ने शव्दले कुनै मानिसहरुको समूह वस्ने ठाउँ तथा काम गर्ने मानिस बस्ने ठाउँ भन्ने बुझिन्छ ।
सुवेदी (२०५५ः१२५)का अनुसार बाइसी क्षेत्रमा खलङ्गा भन्नाले कुनै राजाको दूर्ग भन्ने बुझिन्छ । त्यही शव्द नै नेपाल एकीकरण पछि सेना वस्ने ठाउँ भन्ने बुझिन थालियो ।
यस अर्थमा धनकुटालाई अहिलेको जिल्ला प्रहरी कार्यालय रहेको ठाउँ तथा पछि धनकुटाको सिरानमा रहेको सेना वस्ने ठाउँलाई खलङ्गा भन्न थालेको पाइन्छ ।
चौविसी क्षेत्रमा भने यही खलङ्गा शव्दको सट्टा कोत, गढी, गढका रुपमा प्रयोग भएको वा चिनिएको पाइन्छ । यही कोतबाट नै धानकुट्ने ठाउँको कोत भन्ने गरिएको हो भन्ने पनि किंवदन्तीहरु पाइन्छन् ।
शाहकालमा धनकुटालाई खलङ्गाको शव्द प्रयोग भएको पाइंदैन । यो शव्दको प्रयोग जंगबहादुर राणाको पालामा वि सं १९३२मा प्रयोग भएको पाइन्छ ।
वीर शमसेरको समयमा त धनकुटालाई गांैडा भन्न थालिएको पाइन्छ ।
खतिवडा(२०६१ः ०५)का अनुसार स्थानीय वासिन्दा आठपहरियाहरु धनकुटाको सेना वस्ने उच्च ठाउँलाई खलङ्गा भनेर सम्वोधन गर्दथे ।
तर ह्यामिल्टन (इ सं १८९९)ले भने धनकुटालाई धनकोत भन्ने शव्दले चिनाएको पाइन्छ । गौडा भन्नाले कसैले कुनै दूर्ग बनाएको ठाउँ भन्ने बुझिन्छ । त्यो दूर्गलाई नै गढ वा गढी भन्ने गरिएको हो । जस्तो कुरुले गढी, जितपुर गढी, सिन्धुली गढी आदिलाई लिन सकिन्छ ।
रणबहादुर शाहको समयमा गौंडालाई महत्वपूर्ण ठाउँका रुपमा मानिन्थ्यो र त्यसको व्यवस्थापनको जिम्मा पनि विभिन्न मानिसलाई दिने गरिन्थ्यो । जस्तो धनकुटामा कोतशाला र हतियार राख्ने घरहरु निर्माण गरिए भन्ने कुरा वि सं १८७९ वि सं र १८८०का जसपाउ थापाका निशान अभिलेखहरुबाट प्रष्ट हुन्छ ।
भीमशेन थापाको समयमा वि सं १८८०मा त सेना बस्ने ठाउँको विकास गरी वजार समेत बस्ने प्रवन्ध गरिएको पाइन्छ ।
श्रेष्ठ (२०४२ः१२८) का अनुसार रणबहादुर शाहले त एकपटक गौंडाहरुको पुनर्निर्माणका लागि वि सं १८४१ माघमा आदेश जारी गरेको पाइन्छ । गांैडामा आवश्यक खरखजाना पनि राख्नु भनिएको पाइन्छ । साथै सिक्किमले आक्रमण गर्ने डर भएकाले सबै तयारी गरी राख्नु भन्ने सम्मको आदेश पाइन्छ ।
रेग्मी, (वि सं १९८८ः१९) का अनुसार गोला भन्नाले जहाँ सामानहरु रुपैयाँसँग साटिन्थ्यो त्यस्तो ठाउँलाई गोला भन्ने गरिन्थ्यो । उत्तर भारतमा गोला भन्नाले अन्न र नुन पाइने ठाउँलाई भनिन्थ्यो ।
नेपालका पूर्वका कैयौं ठाउँमा यस्ता गोलाहरु स्थापित भएका थिए जहाँ व्यापारको क्रियाकलाप हुने गर्दथ्यो । राणा कालमा तराईमा कर उठाउने प्रयोजनका लागि गोला स्थापित भए र पहाड तथा हिमाली क्षेत्रमा हटिया गोला स्थापित गरिए । धनकुटा, व्यापार सेनाको खाद्य ओसार प्रसार तथा सामरिक दृष्टि समेतले महत्वपूर्ण ठहरियो ।
ह्यामिल्टन (इ स.१९९०ः १५७) विजयपुर र ओलाङचुङ गोला वीच धनकुटा हुँदै लेगुवा झारेसाँगू तथा चैनपुर त्यतिवेला महत्वपूर्ण व्यापारिक केन्द्रहरु तथा रुटहरु थिए ।
श्रेष्ठ (२०४२ः११७) का अनुसार धनकुटा गोलाको विकास हुँदा यहाँ श्रीजंग देवांसीका नाममा श्रीजंग पल्टनको स्थापना भयो र त्यस पल्टनका लागि थुप्रै खेतहरु पनि छुट्याइए र हात हतियारहरु पनि राख्न थालिए यसले पछि धनकुटाको विकासमा महत्वपूर्ण फड्को मार्याे ।
पाण्डे (२०४२ः१८३) का अनुसार वि सं १८४८मा श्रीजंग पल्टनलाई नेपाली सेनामा समाहित गरियो । यो सेना वि सं १८४८मा नै स्थापित गरिएको थियो ।
तर वैद्य..( वि सं २०४९ः१०३० का अनुसार श्री जंग पल्टन वि सं १८४१को वीच वीचमा स्थापित भइसकेको थियो । पछि वि सं १८८२ मा यो धनकुटा सारिएको थियो । त्यही पल्टनको सम्मानका लागि निसानमा सैन्य निसान राखिएको हो । यही निशानलाई आज निशानदेवीका रुपमा मानिसहरु पूजा गर्दछन् र यसको पूजारी अहिले सेनाबाट नै नियुक्ती गरिने व्यवस्था छ । त्यसै समयदेखि किराँत युवाहरुलाई पनि सेनामा भर्ती राखियो । यसरी धनकुटालाई चन्द्र शमसेरको समयमा गोला शव्दले पनि सम्वोधन गर्ने गरिन्थ्यो ।
सन्दर्भ ग्रन्थ
अधिकारी,कृष्णकान्त (वि सं १९८४)नेपाल अन्डर जंगबहादुर राणा, (१८६४,१८७७) काठमाण्डूः वुकू ।
बस्नेत,भीमबहादुर र ठाकुरप्रसाद बराल(वि सं २०६१) धनकुटाका ऐतिहासिक सामग्रीहरु, धनकुटाः व्यञ्जना र यशोदा ।
ह्यामिल्टन, एफ वी (इ सं १९९०) एन एकाउण्ट अफ द किंग्डम अफ नेपाल,न्यू दिल्लीः एसियन एजुकेशन सर्भिस ।
खतिवडा,शम्भप्रसाद (वि सं २०६१) आठपहरिया राई जातिको पाश्र्वचित्र, धनकुटाः हुसाडेक, नेपाल ।
पाण्ड,ेभीमबहादुर (वि सं २०४२)त्यसबखतको नेपाल , भोलुम ५,ललितपुरः साझा प्रकाशन ।
रेग्मी महेशचन्द्र( वि सं १९८८) एन इकानोमिक हिस्ट्री अफ नेपाल,(१८४६—१९०१) वाराणसीः नाथ पव्लिसिङ हाउस प्रा लि ।
शर्मा,एस पी, वैद्य, तुलसीराम र त्रिरत्न मानन्धर (वि सं २०४९) नेपालको सैनिक इतिहास, काठमाण्डौंः शाही नेपाली जंगी अड्डा ।
श्रेष्ठ शिवकुमार(२०४२) लिम्वूवान्को ऐतिहासिक अध्ययन, धनकुटाः श्रीमती गंगादेवी श्रेष्ठ ।