धनकुटा । औद्योगिक ग्राम संरचना बनाईएको ९ महिना पछि वल्ल कार्यविधि बनाईन शुरु गरिएको छ । साना उद्योग एउटै थलोमा निर्माण गर्न सहज होस् भनि सो औद्योगिक ग्राम निर्माण गरिएको हो ।
धनकुटा नगरपालिका वडा नं. ६ आत्मारामा करिव छ करोडको लगानीमा सो औद्योगिक ग्राम निर्माण गरिएको हो । ग्राम निर्माण भएको लामो समय वितिसक्दा पनि सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा ग्राम सञ्चालनमा आउन सकेको छैन ।
औद्योगिक ग्राम सञ्चालनका लागि बनाईएका संरचनाहरु गएको जेठमा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । तर, प्रदेश सरकारलाई हस्तान्तरण गरेको करिव ९ महिना पछि औद्योगिक ग्राम सञ्चालनका लागि कार्यविधि बनाउन बल्ल सरोकारवाला निकायहरुसँग छलफल शुरु गरिएको छ ।
कार्यविधि बनाउनका लागि औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सहभागीहरुले रोजगार सृजना गर्न तथा देशलाई आत्मनिर्भर बनाउन औद्योगिक ग्राम सञ्चालनका लागि यथाशीघ्र कार्यविधि बनाई उद्योग सञ्चालनमा ल्याउनुपर्ने माग गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पहाडी क्षेत्रको एकमात्र औद्योगिक ग्राम सञ्चालनमा आउन सके यो क्षेत्र कै नमूना औद्योगिक ग्राम बन्ने बताए । उनले औद्योगिक ग्राम सञ्चालनका लागि उद्यमी, व्यवसायी सबै सक्रिय हुन आवश्यक भएको बताए ।
यस्तै कार्यक्रममा प्रदेश सांसद निरन राईले औद्योगिक ग्राम यस क्षेत्रको गहना भएको चर्चा गर्दै यहाँ औद्योगिक ग्राम सञ्चालन भएमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताए । यस्तै प्रदेश सांसद लिला सुब्बाले रोजगार सृजनाका लागि र उद्यम विकासका लागि सम्वन्धित निकायले यथाशीघ्र कार्यविधि बनाई सञ्चालनमा ल्याउन माग गरिन ।
सो अवसरमा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्वुले स्थानीय कच्चा वस्तुको सहि सदुपयोग गर्नेगरी औद्योगिक ग्राम सञ्चालन गर्न सझाव दिए । उनले यो ग्राम यथाशीघ्र सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वयन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।
प्रदेश नं १ का उद्योग वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगानाले औद्योगिक ग्राम सञ्चालनका लागि प्रस्तावित धनकुटा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापनसम्वन्धी कार्यविधि २०७६ छलफल र सुझाव संकलनका लागि प्रस्तुत गरेका थिए ।
कार्यालयका श्याम पौडेलले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा गीताचारी आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, व्यवसायी रिद्धबहादुर थापालगायत राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।