धनकुटा १९ माघ । धार्मिक तथा सहिदहरुको पवित्र भूमि खाल्सा, छिन्ताङ्ग, सहिदभूमीको गौरवमय पहिचान र इतिहास कायम गर्नका लागी सबै एकजुट हुनुपर्ने निर्णय गरेको छ । सो निर्णय आज सम्पन्न भएको नेपाली कांग्रेस सहिदभूमी गाउँपालिकाको वडा नं. २ को सम्मेलनले गरेको हो ।
सो सम्मेलनको १ नम्वर प्रदेश सभाका सदस्य सांसद लिला सुब्बाले गरेका थिईन । सो अवसरमा सांसद सुब्बाले लोकतन्त्रका लागि ज्यानको आहुती दिने सहिदहरुको पुण्यभूमि भएर पनि खाल्सा क्षेत्र लोकतन्त्र आएको यति लामो समयसम्म पनि विकासको उज्यालोबाट बञ्चित हुनु दुःखको कुरा भएको बताईन् । उनले यो क्षेत्रको विकास र समृद्धीका लागी राजनीतभन्दा माथि उठेर सबै एकजुट भएर लाग्नु पर्ने बताईन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राई, पूर्व महासमिति सदस्य शिव कुमार राई, महाधिवेशन प्रतिनिधि रामकुमारी भण्डारी, पार्टी गाउँपालिका सभापति तीर्थ राई, सहसभापति लक्ष्मण राई, प्रदेश क का क्षेत्रीय कोषाध्यक्ष निरुपा राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले अहिलेसम्म नेकपाले मात्रै निर्वाचन जिते पनि सहिद घोषणा गर्न नसकेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले छिन्ताङ्ग हत्याकाण्डमा सहादत दिएका सहिदहरुको उचित सम्मान गर्दै सहिद घोषणा गरेको बताए । उनीहरुले यस क्षेत्रमा हारे पनि विकास र समृद्धीका लागि क्रियाशील हुने बताए ।
वडा सभापति दुर्गा विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका वडा नं. ५ का सभापति कनक राई, वडा नं. ७ का सभापति मंगल सिंह राई, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका कोषाध्यक्ष विष्णु कुमारी राई, कांग्रेसका क्षेत्रीय प्रतिनिधि गुरुभक्त राईलगायतले कांग्रेस गाउँगाउँमा अब नयाँ ढंगले संगठन विस्तार र सुदृढीकरण गर्दै विकास र समृद्धीका लागी अभियान संचालन गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन नेपाली कांग्रेस सहिदभूमीका सचिव रुद्र राईले गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेतृ तथा सांसद लिला सुब्बा र कांग्रेस सचिव विजय सन्तोषी राईले पार्टीका सदस्यता समेत वितरण गरेका थिए ।