धनकुटा । सिंधुवास्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईले डिजलबाट चल्ने ३२ थान मिनिटिलर वितरण गरेको छ । सो मिनिटिलर परियोजनाको ५० प्रतिशत अनुदानमा ६१ थान मिनिटिलर कृषक समूहहरुलाई वितरण गर्ने लक्ष्य अनुसार वितरण गरेको जनाएको छ । वितरण गरिएको मिनिटिलर ८० हजार र ६० हजार मूल्यपर्ने रहेको परियोजना कार्यान्वयन इकाई सिंधुवाका कार्यालयले जानकारी दिए ।
सो मिनिटिलर वितरण कार्यक्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले नेपालका ठूलो जनसंख्या कृषक भएपनि परम्परागत कृषि प्रणालीले सोचेंजस्तो उत्पादन लिन नसकेको बताए । उनले अधिकांश जनता कृषक रहेपनि हामी आफैलाई पुग्ने कृषि उपज उत्पादन गर्न नसकिरहेको अवस्थामा कृषि उत्पादन बढाउन पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले पकेट क्षेत्रमा कृषि उत्पादन बृद्धि गर्न तथा आधुनिक कृषि प्रणाली विकास गर्न सरकारले अनुदानमा यस्ता मिनिटिलर सामग्री वितरण गरिएको जानकारी दिए । उनले यस्ता सामग्रीको दुरुपयोग नगर्न आग्रह गरे ।
यस्तै सो अवसरमा छथरजोरपाटी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दिलबहादुर थापाले नेपाल कृषिप्रधान मुलुक रहेको बताउँदै किसानलाई आधुनिक प्रविधिमैत्री बनाउन यस्ता सामग्री वितरण गरिएको बताए । उनले आगामी दिनमा पनि कृषकलाई आवश्यक पर्ने सामग्री तथा वजार व्यवस्थापन गर्न गाउँपालिका क्रियाशील रहेको जानकारी दिए ।
सो अवसरमा जोन व्यवस्थापन समितिका अध्यक्ष मेघबहादुर खड््काले कृषि प्रविधिको विकास र प्रयोग आजको आवश्यकता रहेको बताउँदै वितरण गरिएका कृषि प्रविधिको सहि सदुपयोग गर्न आग्रह गरे । उनले यदि दुरुपयोग गरिएको भेटिएमा दुरुपयोग गर्ने कृषक वा समूहलाई कारवाही समेत गरिने भएकोले प्रविधिको उच्चतम सदुपयोग गर्न सुझाव दिए । कार्यक्रममा अगुवा कृषक मेघेन्द्र गुरुङ्गले यस्ता आधुनिक सामग्रीले कृषि उत्पादन बढाउन सहयोगी हुने बताए । कार्यक्रममा कृषक समूहका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकारलगायतको उपस्थिति रहेको थियो ।