धनकुटा, १९ माघ । नेपाली कांग्रेस पार्टी प्रवेश हल्लामात्र हो । सो कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका महामन्त्री एवं पूर्व उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री सुनिल बहादुर थापाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेका छन् । आफु गृहजिल्ला धनकुटामा आएको समयमा अनलाईन समाचारमा आएको समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि आफु अचम्मित भएको बताए । उनले सो समाचार भाईरल भएपछि देशभरका राजनीतिक दलका साथीहरुले फोन गर्दा तनावले रातभर सुत्न नसकेको बताए ।
सो पत्रकार सम्मेलनमा महामन्त्री थापाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको बताउँदै नेपालका सबै लोकतान्त्रिक दलहरु एकजुट हुनुपर्ने बताए । उनले आफ्ना पिता स्व. सूर्यबहादुर थापाले पनि लोकतान्त्रिक दलहरुवीचको एकताको कुरा गरेको चर्चा गर्दै अहिले झन आवश्यकता भएको बताए ।
सो अवसरमा महामन्त्री थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा फाउण्डेशनमार्फत धनकुटाको शैक्षिक, आर्थिक, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासका लागि क्रियाशील रहेको जानकारी दिए । उनले फाउण्डशेनको पहलमा जापानी राजदुताबासको सहयोगमा जिल्ला अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट यथाशीघ्र सञ्चालन गरिने जानकारी दिए । उनले सो प्लान्ट सञ्चालन भएपछि जिल्लावासीमा राहत हुने जानकारी दिए । उनले जिल्लाको विकासमा विभिन्न दुतावासको सहयोगका लागि पहल गरिने बताए ।
वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको भन्दै बैदेशिक लगानी आकर्षित गर्न नसकेको बताए । वर्तमान सरकारले नयाँ काम केहि गर्न नसकेको भन्दै पूर्वमन्त्री थापाले अघिल्लो सरकारले गरेको काम आफुले गरेको भन्दै उद्घाटन गरेको आरोप लगाए । उनले नेकपा संघीयाताको मर्म विपरीत प्रदेश ३ सरकारले राजधानी र नाम राख्ने निर्णय गर्नुपर्नेमा पार्टीका केन्द्रिय समितिले टुङ्गो लगाउन निर्देशन दिएको बताए ।
महामन्त्री थापाले वारम्वार सरकारको नेतृत्व गरेपनि कम्युनिष्ट पार्टीले छिन्ताङ हत्याकाण्डमा शहादत प्राप्त गरेका शहीदहरुको उचित सम्मान नगरेको केवल सत्तामा पुग्ने सिढीमात्र बनाउने आरोप लगाए । उनले आफुसमेत सम्मिलित शेरबहादुर देउवा सरकारको पालामा शहीद घोषणा गरेको स्मरण गराए । उनले छिन्ताङ शहीद दिवसको अवसरमा आएका संघीय रक्षामन्त्री इश्वर पोखरेलले ठूलो राहत दिने भनि गरिएको घोषणा भाषणमै सीमित भएको बताए । उनले सो अवसरमा प्रदेश सरकारका मुख्यमन्त्रीले पाँच लाखका दरले दिने भनिएको राहत तत्काल दिन र अन्य जिल्लाका शहीदहरुलाई पनि दिन आग्रह गरे ।
अर्को प्रसंगमा पूर्वमन्त्री थापाले प्रधानमन्त्रीले सबै अधिकार आफुमा सीमित गर्न खोजेको आरोप लगाए । उनले विधेयक ल्याएर स्वतन्त्र मिडियालाई समेत अंकुश लगाउन खोजेको आरोप लगाए । उनले सरकारले मानव अधिकार आयोग, सम्पती शुद्धिकरण आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र न्यायालयमा समेत हस्तक्षेप गरेर प्रधानमन्त्री निरंकुश बन्न खोजेको आरोप लगाए ।