धनकुटा फागुन २ । दोश्रो मेयर कप फुटवल प्रतियोगिताको उपाधी पाख्रीवास वडा नं. ४ ले चुमेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा पाख्रीवास ८ लाई ० का विरुद्ध १ गोल गर्दै उपाधी उचाल्न सफल भएको हो ।
सो प्रतियोगिता पाख्रीवास नगरपालिकाद्वारा सञ्चालन गरिएको थियो । प्रतियोगिताको उपाधीका लागि गरिएको सो ए मात्र गोल वडा नं. ४ का जर्सी नं. ११ का खेलाडी विनोद वुढाथोकीले गरेका थिए । उपाधीसँगै वडा ४ ले नगद एक लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भए । यस्तै उपविजेता वडा ८ ले नगद ७५ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिता गत माघ २४ गतेदेखि सञ्चालन भएको थियो । सो प्रतियोगिता समापन हुनुअघि चर्चित कलाकार शम्भु राई र गंगा गौतमले चर्चित गीत गाएर माहौललाई मनोरञ्जन दिएका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले वितरण गरेका थिए । सो अवसरमा सांसद राईले वर्तमान सरकार देशमै रोजगार सृजना गर्न लागि रहेको बताए । उनले खेलाडीहरु खेलेरै जीविकोपार्जन गर्न सक्ने हैसियतको बनाउन सरकार क्रियाशील रहेको बताए । उनले अहिले धुलो मैदानमा खेल्न वाध्य भएपनि चाडै स्तरीय मैदान निर्माण गरिने आश्वासन दिए । उनले यसका लागि वजेट समेत चाँडै विनियोजन हुने आश्वासन समेत दिए ।
पाख्रीवास नगर प्रमुख बृषबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान लगायतको उपस्थिति रहेको थियो ।