धनकुटा ११ चैत्र । नेपालमा पनि कोरोना भाईरसको संक्रमण देखिएकोले यसको संक्रमण हुनबाट बच्न सतर्कता अपनाउन अपिल गरिएको छ । सो अपिल पूर्वमन्त्री तथा संविधानसभा सदस्य सुनिलबहादुर थापाले आज एक विज्ञप्ती प्रकाशित गरी गरेका हुन् । विज्ञप्तीमा पूर्वमन्त्री थापाले आमधनकुटावासीलगायत समस्त नेपालीहरुमा यसको संक्रमण हुनबाट बच्न सजक र संमयित भई घरमै सुरक्षित रहन अपिल गरेका छन् ।
विज्ञप्तीमा पूर्वमन्त्री थापाले कोरोना भाईरस संक्रमण हुनबाट आमनेपालीलाई बचाउन नेपाल सरकारले देशभर लकडाउन गरेको उल्लेख गर्दै सरकारको निर्देशनलाई पालना गरी घरमै सुरक्षित बसी सतर्कता अपनाउन अपिल गरेका छन् । उनले स्वास्थ्य नै मानिसको अमूल्य धन भएकोले कोरोना भाईरसको संक्रमणबाट आफु बच्न र आफ्ना परिवार तथा समाजलाई बचाउन चिकित्सकहरुको सल्लाह अनुसार विभिन्न तरिकाहरु अपनाउनसमेत अनुरोध गरेका छन् ।
कोरोना भाईरसको संक्रमणबाट देश र जनतालाई बचाउन सरकारलाई साथ र सहयोग गर्नुपर्ने पूर्वमन्त्री थापाले विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले यसका लागि सबैले आआफ्नो क्षेत्रबाट जनचेतना जगाई अभियान संचालन गर्न अपिल गरेका छन् ।