धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिइरहेका बेला धनकुटामा पनि सतर्कता अपनाइएको छ । जिल्लामा कोरोनाको रोकथामका लागि द्रुत स्वास्थ्य जाँच (आरडीटी) सुरु भएको छ ।
प्रदेश १ सरकारले सुरूवात गरेको आरडीटी जिल्ला अस्पतालबाट सुरु गरिएको हो । बुधबार पाख्रिवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका ३ जना र बिहीबार चौविसे र साँगुरीगढी गााँपालिकामा ११ जनाको जाँच गरिने भएको छ ।
प्रदेशको समाजिक विकास मन्त्रालयले पहाडी जिल्लामा धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा यो परीक्षण गर्न भनेपछि धनकुटाले मंगलबारदेखि थालेको हो । प्रदेश सरकारले धनकुटामा १३० वटा किट उपलब्ध गराएको छ ।
धनकुटा अस्पतालमा ३ जनाको पहिलो दिन स्वास्थ्य जाँच गरिएको छ । गएको २१ दिन भित्रमा विदेशबाट आएका १७ जनाको उक्त परीक्षण थालिएको हो ।
जिल्ला अस्पतालमा ३ जनाको रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. पुजन विश्वकर्माले बताए ।