इन्दिरा चोङबाङ
जीवन सुन्दर छ तर अत्यन्तै छोटो छ । सबै चाहन्छन् धेरै बाँचौ अनि यो संसारका सारा नयाँ परिवर्तनहरू अनुभव गरौ । यही परिवर्तनसँगै आफुलाई समाहित गर्दै जिन्दगी रमौ । बिडम्बना कसैको सपना पुरा हुन्छन् त कोही भने लाउलाउ खाउखाउ उमेरमै यो संसारबाट बिदा लिन्छन् । जिन्दगी बाँच्ने एक बाहाना हुन् । यसभित्र हजारौ सपनाहरूको जन्म हुन्छ र अनि मृत्यु पनि । कति सपनाहरू बसन्तको पालुवासँगै रम्छन्, फस्टाउछन् त कति बिच बाटोमै हराउँछन् । जीवन केही पलका लागि हुन् र हामी सबै केही समयका लागि पाहुना । यो यात्रामा जो रमाउन सक्छन् अनि खुशि भएर बाँच्न सक्छन् तिनैका जीवन सफल हुन् । तर, जो यस स्वर्णिम आनन्दबाट चुक्छन् जीवन शून्य बन्छ अनि अर्थ्बिहीन पनि ।
सबै मानिस सुख, शान्ति र अमनचयन चाहन्छन् । दुःखको नाम पनि सुन्न नपरोस् या त दुःखको अनुभवसम्म पनि गर्न नपरून्, यही पुकार गर्छन् भगवानसँग । यसरी सुख, शान्ति अनि खुशीको लागि प्रार्थना गर्दागर्दै पनि जीवनमा सोच्दै नसोचेको दुःख आइपर्छ, अनि सामना गर्नु बाध्य हुन्छ । सबैको भाग्यमा सुख मात्र कहाँ लेखेको हुन्छ र ? जब जीवनमा दुःख अनि व्यवधान आईपर्छ त्यतिबेला लाग्छ संसारमा कसैलाई नपरेको पीडा मलाई मात्र किन आईपर्यो ? किन म मात्र यति अभागी, जसको पोल्टामा सँधै दुःखै मात्र आइलाग्छ ? संसारमा मैले मात्रै यी सबसँग लड्नुपर्ने बिडम्बना किन ? यस्तै यक्ष प्रश्नहरूले सताउन थाल्छ मनमा अनि त्यसैको जवाफ खोज्दा खोज्दै दुःखी भएर उदासीमै अधिकांश समय बित्छ, जुन थाहै नपाई जीवनको अभिन्न पाटो बनि सकेको हुन्छ ।
वास्तवमा मान्छेको जीवन भनेको नै सबैभन्दा सुन्दर उपहार हो, अनि जीवनले भोग्ने समय । जीवनका हरेक भोगाईहरू जीवन जीउने बहाना मात्रै हुन् । कुनै तितो, कुनै मिठो त कुनैमा खुशी नै खुशी । अनि कुनै थाम्नै नसक्ने, सहन नै नसक्ने पीडा । फरक यति हो, कसैसँग तितो यथार्थलाई पनि सजिलैसँग मीठोे मुस्कानका साथ सामना गर्ने हैसियत राख्छन् र दुःख र पीडालाई पनि सुखमा बदल्न सक्ने ताकत बटुल्छन् त कोही अत्यन्त सामान्य दुख र कठिनाईलाई पनि भुल्न नसकेर आफ्नो जीवनको मूल्य नै बिर्सन्छ । अनि आफैलाई संसारकै अभागी सम्झँदै निराश बन्छ ।
वास्तबमा भन्ने हो भने जब हामी आफ्नो जीवनलाई कसैको जीवनसँग तुलना गर्छौ तब आफ्ना अप्ठ्यारा र असजिला पाटाहरू आँखा सामु नाच्न थाल्छन् । अरूलाई सँधै सन्तुष्टी र पूर्ण देख्ने आँखाहरूले सँधै अरूको सुख, अमनचयनलाई मात्र देख्छ । तर ऊ भित्रको पीडा र संघर्ष र उसले भोगेको अप्ठ्यारा हामी कहिल्यै देख्दैनौं, नत देख्ने प्रयास नै गछौं । अरूसँग भएको भौतिक साधन र स्रोतलाई हेरेर आफु आफैभित्र जल्ने अनि भए नभएका सारा तनाव आफैलेलिने गर्छौं अनि बिना कारण दुःखी बन्छौं र आफ्नो भाग्यलाई सराप्छौ, यतिमात्र कहाँ हो र। हामी आफ्नो सामान्य समस्यालाई पनि पहाड जस्तै देख्छौ अनि आफैलाई सँसारको अभागीको संज्ञा दिन्छौ । वास्तबमै मानवमा भएको दुःखको कारक तत्व नै यही हो हामी जहिले पनि मसँग के छ भनेर सोच्दैनौं, तर अरूसँग के छ, अनि मसँग त्यही चीज किन छैन भन्ने प्रश्नमा रूमल्लिएर जीवन तनाबै तनाबमा बिताउँछौ ।
दुःख, पीडा र संघर्ष्बिनाको जीवन सायद कमैको होला । सुखमा बाँच्न सबैले जानेका हुन्छन् तर जसले दुःखलाई शक्तिमा बदलेर जीवन बाँच्न सक्छ, त्यो नै महान व्यक्ति हो । उदाहरणका लागि स्वतन्त्र भारतका जन्मदाता माहातमा गान्धि अनि अमेरिकाको पहिलो अस्वेत राष्ट्रपति बाराक ओबामालाई लिन सकिन्छ । उनीहरूले जन्मजात त्यो क्षमता लिएर आएका होइनन्, अनेक सँघर्ष कठिनाईलाई पार गरेर उनीहरू त्यस ठाँउमा पुगेका हुन् । अरूसँग के छ भनेर सोच्नुभन्दा अघि म सँग यो छ, यसकारण आफु पनि अरु जत्तिक्कै समान अनि सक्षम छुभनेर सोचौ । जब हामी आफुसँग भएका उपलब्धी र आफुसँग भएका सकारात्मक पक्षसँग धन्य हुन सक्दैनौ, कहिल्यै पनि सुखी बन्न सक्दैनौ । परिवारसँग समय बिताईरहनु भएको छ भने त्यसैमा कृतज्ञ हुन सिकौं किनकि एक्लो जीवन बाँच्नेहरुलाई हेरेर उनीहरुको पीडालाई महसुस गरौं, अनि आफुसँग जे छ त्यसमा गर्ब गर्न सिकौं । यदि कोही आमाबाबु आफ्नो बच्चाहरूले थकित बनाएर दुखि महसुस गर्नुभएको छ भने सोचौ आमाबाबु हुने चाहाना भएर पनि हुन नपाएकाहरूको पीडा, त्यस अर्थमा तँपाई कति भाग्यमानी, अनि आफैमा गर्व गर्नुहोस् । तपाई उच्च शिक्षा लिनुभएको छ भने, कलेज जाने हजारौ सपना भएका तर परिस्थितिले वञ्चित भएकाको भावना आत्मसात गरौ त्यस अर्थमा तपाई कति भाग्यमानी ?
वास्तबमा मान्छेलाई दुःखी र कमजोर बनाउने भनेको त्यो सबै मान्छेको मनले नै हो त्यसैले आफ्नो व्यक्तिगत खुशी र स्वार्थभन्दा माथि उठेर जब समाज र दुनियाँलाई देख्न सक्दैनौ तबसम्म हामी आफैभित्र खुम्चिरहेका हुन्छौ । भलै अरूका निम्ति केही गर्न नसकुला तर मिठो बचन त बोल्न सक्छौैं नि होइन । कसैलाई पैसा दिएर सहयोग गर्न नसकुला तर मीठो मुस्कान त दिन सक्छौ । आत्मकेन्द्रित बिचारहरुले सँधै दुःखी बनाउँछ तर सानो सानो प्रयासले कसैको जीवनमा फरक ल्याउन सक्यो भने त्यसले दिने खुशी र सन्तुष्टि कुनै पनि भौतिक चिजले कहिल्यै दिन सक्दैन ।
अहिले कोरोना भाइरसको महामारीले संसारलाई नै त्रसित र चिन्तित बनाएको छ । विश्वलाई नै त्रसित बनाएको महामारीबाट लाखौले ज्यान गुमाईसकेका छन् । कैयौले आफनो परिवार त कैयौले आफन्तहरु गुमाईरहेका छन् । हिजोसँगै बोलेका, साथसाथमा हिडेका आफन्त र प्रियजनहरू गुमाउँदाको पीडाले संसारलाई नै रणभुल्लमा पारेको छ । कुनै पनि चीज स्थायी हुन्नन्, यो महामारी पनि केही समयपछि नियन्त्रणमा आउछ भनेर आशा गरौं, आशा भयो भने धेरै कुरालाई सामना गर्ने आँट आउँछ, त्यसैले अहिलेको बिषम परिस्थितिसँग जुध्नको लागि सबैले संयमता, धैर्यता र साहस बटुलौं । लौ अब मरिने भयो भनेर आत्मबल कमजोर बनाउने भन्दा म एकदमै सवल छु बलियो छु र जुनसुकै परिस्थितिसँग पनि लड्न सक्छु भनेर मानसिक रुपमा तयारी होऔ आफनो मनोबल सधै उच्च र बलियो बनाऔं । आफन्त साथीभाइलाई केही समस्या परेको छ भने फोन गरेर भएपनि सान्त्वना दिऔं । अरुलाई होच्चाउने, खुट्टा तान्ने भन्दा पनि यो त्रासदीपूर्ण घडीमा एक अर्कालाई कसरी सहयोग गरेर अघि बढ्न सकिन्छ भन्ने सोचौं, र सकेको सहयोग गरौं । आफु पनि बाँचौ र अरूलाई पनि बचाऔं । जिन्दगी एक बहाना हो, बाँच्ने हजारौं सपना, रहरहरू र आशा कायमै राखौ, अनि यही रहर र सपना जिउने बहानामा जीन्दगी जिउँदै जाऔं । समाप्त
लेखिका चोङवाङ हाल कोरोना भाईरस संक्रमणको अति संवेदनशील क्षेत्र अमेरिकाको न्यूयोर्क शहरमा बसोवास गर्छिन् ।
यहाँपनि भेट्न सकिन्छ
www.indirasite.com