धनकुटा जेठ ७ । धनकुटा अस्पताल सञ्चालमा आउने भएको छ । गत आईतवार धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई नोवेल कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अस्पताल अनिश्चित कालका लागि बन्द गरिएको थियो ।
आज बुधबार बसेको कोभिड १९ कमाण्ड फोर्सको बैठकले कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएका अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखिने छ । त्यसपछि अस्पताललाई सेनिटाइज गरेर सञ्चालनमा ल्याइने निर्णय गरिएको फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।
एकजना स्वास्थ्यकर्मीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि थप ८६ जनाको स्वाव परिक्षण गरिएको छ । जसमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वाव परिक्षण गरिएको ८३ जनालाई (कोरोना पुष्टि भएका वाहेक) धनकुटा–६ आत्मारा स्थित औद्योगिक ग्रामस्थित क्वारेन्टाईनमा राखिने छ ।
स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित पुष्टि भएपछि अस्पताल बन्द गर्नुपरेपछि अस्पतालले दिईरहेको स्वास्थ्य सेवालाई निरन्तरता दिन सिल नखुलेञ्जेलसम्मको लागि धनकुटा–६ स्थित आँखा अस्पतालबाट सेवा दिने निर्णय समेत गरिएको छ । जितपुर र डाँडाबजारमा स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई जिल्ला झिकाई आँखा अस्पतालमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय गरिएको श्रेष्ठले बताए । थप स्वास्थ्यकर्मीको लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।
यस्तै वैठकले टाइम कार्ड लागू गरेको छ । आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागु गर्ने निर्णय भएको छ । धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुन दिइने भएको छ ।
त्यस्तै पिसिआर परिक्षण गर्न आवश्यक पर्ने किट खरिद गर्न र विदेशवाट आएका व्यक्तिलाई राख्नको लागि क्वारेन्टाईन निर्माण गर्न स्थानीय पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ । वैठकमा प्रदेशका माननीय, जिल्ला समन्वय प्रमुख, धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
थप एक जनामा कोरोना भाईरस
थप एकजनामा कोरोना संक्रमण देखिएको छ । आईतवार पहिलो पटक धनकुटा अस्पतालका नर्सलाइ कोरोना भाईरसको संक्रमण देखिएपछि संक्रमित हुनेहरुको संख्या अहिले सात पुगेको छ । सातौं संक्रमित प्रहरी जवान रहेको जनाएको छ ।
कोरोना भाईरस संक्रमित स्वास्थ्यकर्मीहरुले विगत १५ दिन यता परिक्षण गरिएका विरामीहरुको खोजी गरी उनीहरुको पनि स्वाव परिक्षण गर्ने तयारी गरिरहेको जनाएको छ । अहिले सम्बन्धित वडा कार्यालयहरुले आफ्ना वडावासीहरुलाई यदि सो मितिमा अस्पतालबाट सेवा लिएको छभने सम्पर्क राख्न सूचना जारी गरेका छन् ।
यसैक्रममा धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष जंगबहादुर राईले पनि सो सम्बनिध सूचना प्रकाशन गरेको जनाएको छ । उनका अनुसार स्वास्थ्कर्मीलाई ने कोरोना देखिएपछि उनीहरुबाट सेवा पाएकाहरु र उनीहरुसँग सम्पर्क भएकाहरुलाई पनि संक्रमण हुने त्रासले सचेत हुनका लागि पनि यो सूचना प्रकाशित गरेको जनाएको छ ।
यस्तैगरी जिल्लाका सबै स्थानीय तहहरुले पनि सूचना जारी गरेका छन् । यसैक्रममा चौविसे गाउँपालिकाले आगामी जेठ ९ गतेसम्मालागि पालिका सिल गरिएको अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । उनले सो अवधिका एम्बुलेन्स तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीबाहेक सबै सवारी साधनलाई प्रतिबन्ध गरिएको जानकारी दिए ।