इश्वर थापा
धनकुटा । नेपाल सरकारले जारी गरेको लकडाउनयता कोरोना नियन्त्रणका लागि जिल्लाका सात स्थानीय तहमा करिब तीन करोड खर्च भएको छ । कोरोना नियन्त्रणका लागि धनकुटामा हालसम्म दुई करोड ९८ लाख १९ हजार तीन सय ८९ रुपैयाँ खर्च भएको छ ।
खर्च गर्ने स्थानीय तहहरुमा सबैभन्दा बढी धनकुटा नगरपालिमा ७१ लाख ८२ हजार ३ सय ८९ रुपयाँ खर्च भएको छ । यस्तै महालक्ष्मी नगरपालिकामा ४२ लाख र पाख्रिबास नगरपालिकामा ३३ लाख ५४ हजार खर्च भएको छ ।
यस्तै गाउँपालिकाहरुमा सबैभन्दा बढी छथरजोरपाटी गाउँपालिकामा ४९ लाख रहेको छ । यस्तै चौविसे गाउँपालिकामा ४३ लाख ५० हजार, सहिदभूमि गाउँपालिकामा ३३ लाख र सबैभन्दा कम साँगुरीगढी गाउँपालिकामा २५ लाख २६ हजार रहेको छ ।
खर्च भएका रकम स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण र राहत वितरणमा खर्च गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।