धनकुुटा । आत्मनिर्भर नगर बनाउने अभियानअन्तर्गत धनकुटा नगरपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) र दुग्ध ढुवानी गर्न टेम्पो वितरण गरेको छ । कृषिलाई यान्त्रिकीकरण गर्दै उत्पादनलाई वृद्धी गर्ने लक्ष्यका सो सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख चिन्तन तामाङले जनाएको छ ।
वर्तमान समयमा भनेको समयमा जनशक्ति नपाउने र पाए पनि महंगो हुनाले यी सामग्री फलदायी हुने नगरप्रमुख तााङले बताए । उनले कोरोना भाईरसको महामारीबाट बैदेशिक रोजगारको अवस्था गुम्ने खतरासमेत रहेकोले आफ्नै गाउँठाउँमा कृषिलाई व्यवसायका रुपमा रोजगार हुन सहयोग पुग्ने बताए । सो सामग्रीमा ८० प्रतिशत अनुदान र २० प्रतिसत किसानको लगानी रहने छ । ती सामग्री नगरका १६ वटा कृषक समूहलाई एक एक वटाका दरले मिनिटिलर वितरण गरेका हुन् । यस्तै किसानले उत्पादन गरेको दुध एवं दुधजन्य वस्तु सहज ढुवानीका लागि दुईवटा टेम्पो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सो सामग्री नगरपालिकाका प्रमुख चिन्तन तामाङ र उपप्रमुख शकुन्तला बस्नेतले किसानहरुलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख तामाङले ‘कृषिमा विश्व काँबाट कहाँ पुगिसक्यो तर हामी अझै पनि खेत गोरुबाट जोत्दै आएका छौं’, यसरी कृषिमा व्यावसायिकता हुदैन भन्दै उनले कृषिमा आधुनिकीकरण गर्न सहयोग हुने विश्वास रहेको बताए । उनले हाम्रोजस्तो पहाडी भूवनोट भएको ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव नहुने भएकाले मिनी टिलर वितरण गरेको बताए ।
सो सामग्री वितरणका लागि १ नं. प्रदेश सरकारबाट सशर्त २० लाख रुपैयाँ अनुदान आएको थियो । सो बजेट कार्यान्वयनको लागि गत जेठ ६ गतेको नगर कार्यपालिकाको बैठकबाट १६ कृषक समूहलाई मिनी टिलर र २ कृषक समूहलाई टेम्पो खरिद गर्न अनुदान दिने निर्णय गरी कृषक समूह छनौट गरेको थियो ।
अहिलेको समयमा गोरु पउन समस्या हुने र महंगो पनि हुने देखिन्छ । यो मिनी टिलरबाट जोत्दा प्रतिघण्टा एक लिटर पेट्रोल खर्च हुने र एक घण्टामा एक रोपनी जोत्न सकिने जनाएको छ ।
मिनी टिलर पाएपछि खुसी हुदै अब हलो जुवा बोकेर गोरु धपाउँदै हिड्नु पर्ने दिन समाप्त भएको धनकुटा ९ को बेलहारा कृषक समूहका घनश्याम बस्नेतले बताए । उनले जोत्न मेसिन भएपछि खेतबारी बाँझो नहुने र उत्पादन बृद्धि हुने विश्वास रहेको बताए ।
नगरपालिकालाई गोरुमुक्त क्षेत्र बनाइने
धनकुटा नगरपालिकाले नगरलाई गोरुमुक्त क्षेत्र बनाउने अभियान गतवर्षदेखि चलाएको छ । गोरुको सट्टा गाई पालेमा त्यसबाट उत्पादित दुधले आम्दानी हुने भएकाले अभियान चलाइएको नगरप्रमुख तामाङले बताए । उनले गोरुलाई खुवाइने दानालगायतले गाईलाई खुवाएमा आम्दानी राम्रो हुने बताए । उनले गोरुको सट्टा मिनीटिलर प्रयोग गरेमा काम परेको बेला मात्रै खर्च हुने र कम जनशक्तिमै गर्न सकिने भएकाले किसानलाई फाईदा हुने बताए । नगरप्रमुख तामाङले केही वर्षभित्र नगर गोरुमुक्त हुने दावी गरे ।
यो अभियान अन्र्तगत हालसम्म ५७ थान मिनी टिलर नगरपालिकाको ८० प्रतिशत र कृषक समूहको २० प्रतिशत साझेदारीमा वितरण गरेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए ।