धनकुटा । कोरोना भाईरस ( कोभिड १९) को महामारीको कारण अहिले विश्व नै ठप्प अवस्थामा छ । यसको सबैभन्दा मार पर्यटन व्यवसायी तथा व्यवसायलाई परेको छ । यसैलाई मध्यनजर राख्दै भेडेटार होटल एशोसियशनले भेडेटारमा सञ्चालित होटललगायत व्यवसायहरुको २०७७÷७८ को नवीकरण शुल्कमा छुट दिन साँगुरीगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्र गत सावन ४ गते बुझाउन एशोसियशनका अध्यक्ष जितेन्द्र रुम्दाली, संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठलगायत पदाधिकारी तथा व्यवसायीहरु सहभागी भएका थिए । ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाले निर्णय गरी छुट दिने आश्वासन दिएका थिए ।
सो ज्ञापनपत्रलाई सम्वोधन गर्दै हालै गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नवीकरण शुल्कमा २५ प्रतिसत छुट दिने निर्णय गरेको एशोसियशनका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । अध्यक्ष रुम्दालीले सो छुट दिएकोमा गाउँपालिकाका अध्यक्ष कुमार जंग याखालगायत पालिका परिवारलाई धन्यवाद दिएको छ ।