धनकुटा । साँगुरीगढी गाउँपालिकामा निर्मित झोलुङ्गे पुलको एक कार्यक्रमका वीच प्रदेश सांसद निरन राईले उद्घाटन गरेका छन् । प्रदेश १ सरकारको सहयोगमा निर्मित सो पुल गाउँपालिकाको वार्ड नं. १ र ७ बीच लेउतीखोलामा निर्माण गरिएको छ । सो पुल पर्डेप नेपालको संयोजन र पीटीएपीको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
उद्घाटन गर्दै सांसद राईले पुल निर्माण भएपछि यस क्षेत्रका जनताले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले पुल निर्माण हुनुपूर्व बर्षाको मौसममा केहि व्यक्तिहरुले ज्यान गुमाउनु समेत परेकोमा अब त्यस्तो अवस्थाको अन्त्य भएको बताए ।
सांसद राईले पुल निर्माण भएपछि नदी वारीका कृषकहरुले आफ्नो उत्पादन सबै मौसममा लावरेबोटेमा ल्याएर बेच्न र आफुलाई आवश्यक पर्ने सामग्री लान सहज हुने बताए । उनले पुलको अभावमा विशेषगरी बर्षाको मौसमा विरामीहरुलाई उपचारमा समेत उच्च जोखिम हुनेलगायतको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले समेत सहयोग गरेको बताए ।
सो अवसरमा सांसद राईले आफ्नो पहलमा जिल्लामा प्रदेश सरकारको सहयोगमा चारवटा झोलुङ्गे पुल निर्माण भैरहेको जानकारी दिए । उनले अन्य पुल सम्पन्न नभएको तर अध्यक्ष महिला भएको निर्माण समितिले सम्पन्न गरेको भन्दै प्रशंसा गरे ।
सो अवसरमा विशेष अतिथि पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोखरेलले पुल निर्माण भएपनि अ यसको रेखदेख र सुरक्षा गर्ने जिम्मेवारी स्थानीयको भएको बताए । लेउतीखोला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष पुनम राई (लिम्बु) को अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा साँगुरीगढी गाउँपालिका वार्ड १ का वडाध्यक्ष तिलक साम्पाङ, ७ का वडाध्यक्ष हरिपूर्ण राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सन्जयसन्तोषी राई, लेउती जलाधार सांस्कृतिक पर्यटन विकास समितिका अध्यक्ष बलबहादुृर राई, पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदी, स्थानीय राजकुमार लिम्बुलगायतले पुललाई बाढीबाट जोगाउन स्थानीयवासी जग हुनुपर्ने बताए ।
सो पुल प्रदेश सरकारको ६८ लाख ९९ हजार एक सय ३२ रुपैया, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट सात लाख ५२ हजार दुई सय ३३ रुपैया र स्थानीय उपभोक्ता समितिबाट एक लाख ६१ हजार नौ सय २६ रुपैयाँ गरी ७८ लाख १३ हजार दुई सय ९१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव युधिर चाम्लिङ राईले गरेका थिए ।