ठाकुरप्रसाद बराल
धनकुटा असोज ७ । केहि समय अघि धनकुटा साप्ताहिकले धनकुटाका एक सय एक सन्तान नामक पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकमा विगतमा धनकुटाका लागि तथा देशका लागि विशेष योगदान दिएका धनकुटेलीहरुका वारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले त्यस्ता व्यक्तित्वहरुको जानकारी दिईएको छ ।
सो पुस्तकमा उल्लेख भएका मध्ये एक व्यक्तित्व यज्ञप्रसाद आचार्यको हिजो साझ ५ः४५ वजे निधन भएको छ ।
उहाँका वारेमा एक सय एक सन्तानमा उल्लेख भएको लेख
यज्ञप्रसाद आचार्यलाई धनकुटामा कसैले परिचय गराइरहनु पर्दैन । उनी स्वयं परिचित छन् । लाई धनकुटामा कसैले परिचय गराइरहनु पर्दैन उनी स्वयं परिचित छन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका तत्कालीन तेलियाको पिप्ले भन्ने ठाउँमा वि सं १९९० सालमा यिनको जन्म भएको हो । यिनले वि. सं २०११ सालतिर वनारसबाट आधुनिक इतिहासमा एम ए र कानूनमा एल एल वी गरेका हुन् ।
यिनको विवाह वि. सं २०१२ सालमा विष्णुदेवीसँग भएको थियो । यिनका महेश, योगेश, सुरेश नामका तीन छोरा र मीना नामकी एक छोरी छन् ।
यिनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । यिनी विद्यार्थीकालमा अखिल बनारस नेपाल छात्र फेडेरेसनका महामन्त्री तथा वनारस विश्वविद्यालय छात्र संघकासमेत महामन्त्री बनेका थिए । यिनी र स्व.ज्ञानेन्द्रबहादुर कार्की समेत संलग्न त्यहाँका विद्यार्थीहरुको प्रतिनिधि मण्डलले नेपालमा विश्वविद्यालय स्थापनाको सर्वप्रथम माग गरेको थियो ।
२००५ सालमा वी पी को सत्याग्रहमा यिनी पनि सहयोगी बनेका थिए । वि सं २००५ सालमा नै नेपाली काँग्रेसको यिनी धरान जिल्ला समितिको सचिव निर्वाचित भएका थिए । तर, वि सं २०१० सालदेखि यिनले राजनीतिक विचारमा परिवर्तन गरे र नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहे । यिनी २०१६ सालमा नेकपाको उमेदवारका रुपमा धरान नगरपालिकामा निर्वाचित भएका थिए ।
पञ्चायत व्यवस्थाको आगमन पछि यिनी पञ्चायतमा प्रवेश गरे । प्रवेशसंगै धरान नगर पञ्चायत, कोशी अञ्चल पञ्चायतको स्नातक प्रतिनिधि, अञ्चल समिति सदस्य भए । यसका साथै युवक संघको कोशी कोषाध्यक्ष र पछि केन्द्रीय सभापति पनि निर्वाचित भएका थिए । वि सं २०२८ सालमा यिनी राजसभा स्थायी समितिका पदेन सदस्य भए । साथै राष्ट्रिय युवा परिषद, महेन्द्र युवालयका अध्यक्ष, राष्ट्रिय योजना आयोग, जाँचुझ समितिका संयोजक, पञ्चायत नीति तथा जाँचवुझ समितिका सदस्य भएका थिए ।
यिनी राजा ज्ञानेन्द्र शाहको शासनकालमा राजाबाट राजसभा स्थायी समितिको सदस्यमा मनोनित गरेका थिए । यिनको कुटनीतिक क्षेत्रमा समेत त्यत्तिकै सहभागिता छ । यिनले वेलायतका राजकुमार चाल्र्स, स्वीट्जरल्याण्डका राष्ट्र प्रमुख र चीनका प्रधानमन्त्री वेन जिया वाओसँंगसमेत भेटवार्ता गर्ने मौका पाएका थिए । यस अतिरिक्त वेलायत, फ्रान्स, जर्मनी, पाकिस्तान, इजिप्ट थाइलैण्ड, हङ्कङ र स्केण्डनेवियन जस्ता मुलुकहरुमा आफ्नो मुलुकको विकासका लागि यिनले कूटनीतिक पहल गर्ने गरेका थिए । यिनको योगदान केवल राजनीतिक तथा कूटनीतिक रुपमा मात्र नभई साहित्य तथा लेख रचनामा पनि त्यतिकै छ ।
यिनी स्वयं सम्पादक प्रकाशक तथा विभिन्न तरिकाबाट संलग्न भएका छात्रवाणी, छात्रधारा, नवजागरण, दि हिमालयन करेन्ट जस्ता पत्रिका प्रकाशन भएका थिए । यिनीबाट जङ्गबहादुरको उदय, राजसंस्था र निर्दलीय पञ्चायती प्रजातन्त्र र विकेन्द्रीकरण, गण्डक र नेपाल, नेपालको परराष्ट्र नीति, कोशी आयोजना तथा समसामयिक विभिन्न लेख रचनाहरु प्रकाशित भएका छन् । यिनी धरानमा रहँदा त्रिभुवन रात्री विद्यापीठ स्थापनार्थ सक्रिय रहे । महेन्द्र कलेजको सचिव र पछि त्रिवि सिनेट सदस्य पनि बने । यिनले धरानमा निःशुल्क प्राथमिक शिक्षाका लागि अभियान नै चलाए ।
यिनका मुक्तात्मा प्रकाशित र पानको पात अप्रकाशित कथा ंसग्रह छन् । यज्ञप्रसाद आचार्य बोलिका पक्का कामका पक्का थिए । जहाँ लाग्यो त्यहाँ इमान्दारिताका साथ लाग्नु पर्छ भन्ने मान्यता राख्छन् । यिनको तेलियामा अझै पनि घर छ जुन भग्नावशेषका रुपमा रहेको छ । त्यसलाई यिनकै नाममा संग्रहालय खोल्न सकियो भने धनकुटाको लागि उदाहरणीय पर्यटकीय क्षेत्र हुने थियो र सुनसान वन्दै गएको यिनको जन्मथलो गुल्जार पनि हुने थियो भन्ने कुरा नकार्न सकिदैन ।