धनकुटा । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा नेपाली कांग्रेस साँगुरीगढी वडा नं ८ वडा कार्यसमितिद्वारा शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरेका ९२ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सो कार्यक्रममा राजकुमार राई र पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना प्रवेश गरेको नेपाली कांग्ेसका जिल्ला कोषाध्यक्ष दिनेश राईले जानकारी दिए ।
नव आगन्तुक नेता तथा ार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि तरूण दलका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि कमोट फागोले टिका लगाई स्वागत गरेका थिए । सो अवसरमा फागोले नेकपाको बहुमत प्राप्त वर्तमान सरकार जनताको हित हुने काम गर्ने भन्दा आश्वासन र गफ गर्ने पार्टीमा रुपान्तरण भएको आरोप लगाए ।
नेता फागोले अहिले देश संकटबाट गुज्रिरहेको छ तर, सरकार देश लुट्न व्यस्त रहेको बताए । उनले देशविकास र लोकतन्त्रका लागि आगामी निर्वाचनमा नेपाली कांग्रेसले विजयी प्राप्त गर्नुपर्ने बताए ।
सो कार्यक्रममा विशेष अतिथि जिल्ला कोषाध्यक्ष दिनेश राईले नवआगन्तकको स्वागत गर्दै नेकपाको सरकार अहिलेको महामारीमा जनतालाई न्युनतम राहत दिनुपर्ने समयमा पनि सत्ता संघर्ष र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले नेकपाको वर्तमान सरकारले जनताको विश्वास गुमाएको भन्दै नेपाली कांग्रेस मात्रै जनताको भरोसायोग्य पार्टी भएको बताए ।
यस्तै बिषेश अतिथि प्रदेश क सभापति जितेन्द्र राईले नवआगन्तुक नेता तथा कार्यकर्ताहरुलाई योग्यताअनुसार जिम्मेवारी दिईने बताए । सो अवसरमा आमन्त्रित जिल्ला सदस्य प्रिति राई, नेपाली कांग्रेस सांगुरीगढी सभापति एवं वडा नं ६ अध्यक्ष यमप्रकाश मगर, तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङ, नेविसंघ जिल्ला अध्यक्ष बालानन्द दाहाललगायतले नवप्रबेशीहरुलाई टिका लगाई स्वागत गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस साँगुरीगढी वडा न ८ का पार्टी सभापति प्रकाश राईको सभापतित्वमा सम्पन्न भएको थियो ।