धनकुटा । २०७७ सालको बर्सादको समयमा महालक्ष्मी नगरपालिका भरि क्षति पुगेका ३७ घरपरिवारलाई खाद्यान्न सहितको राहत वितरण गरिएको छ ।
यूएनडिपिको आर्थिक सहयोग तथा महालक्ष्मी नगरपालिका र पर्डेप नेपाल धनकुटाको व्यवस्थापनमा एक कार्यक्रमका वीच बर्सादको समयमा क्षति पुगेका घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार ५० केजी चामल, ५ केजी दाल, ४ लिटर तेल, ३ केजी चिनी र २ केजी नुन वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए ।
कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले नगरभित्र यस वर्ष बर्सादको बेला पहिरोमा परि पूर्णरुपमा क्षति भएका ३७ घरपरिवारलाईयूएनडिपि र पर्डेप नेपालसँग समन्वय गरेर राहत वितरण गरिएको बताए ।
बर्सादको बेला महालक्ष्मी नगरपालिकाको वडा नं १ मा ८ घर ,वडा नं २ मा ३ घर ,वडा नं ५ मा ७ घर ,वडा नं ४
मा ३ घर ,वडा नं ६ मा ५ घर ,वडा नं ७ मा ७ घर वडा नं ८ मा १ घर र ९ नम्वर वडामा ३ घर गरी जम्मा ३७ घर पूर्ण रुपमा क्षति तथा उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ ।
नगरको वडा नं १ का लिलबहादुर खड्काको वर्सादको बेला घर मुनि पहिरो जाँदा थर्केर घर चर्किएर बस्न नमिल्ने भएपछि भान्साघरमा पालि टाँगेर बसिरहेको बताए । दशैको मुखमा राहत पाउँदा खुसी लागेको बताए । उनले सरकारले घर बनाउन सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै वडा नं ८ का अगमाया लुङगेली मगरले पनि पहिरोकै कारण घरको एकपट्टि भाग चर्केर बरण्डा भत्किन लागेको बताए ।
वडा नं १ का राजन कट्टुवालको पनि वर्सादको समयमा परेको पानीले घरको जग भन्दा करिब दुई मिटर तलतिर वारी भत्केर घर नै जोखिममा परेको छ । उनको घर मुनीको बारी भासिएको छ । दशैको बेला राहत पाउँदा खुसी लागेको बताए ।