धनकुटा । महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगर भरिका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले चालु आर्थिक बर्षदेखि यो अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत वडा नं–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर अभियान सुरु गरिएको छ । अभियान उद्घाटनका अवसरमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार÷चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएकोे छ ।
बिपन्न तथा भौगोलिक बिकटताका कारण बिजुली बत्तीको पहुँचमा नपुगेका चानुवाका कर्णबहादुर खड्का, सलबहादुर विश्वकर्मा, गोपाल छाला, पुष्पराज अधिकारी र मोहन अधिकारीको परिवारलाई सोलार वितरण गरिएको हो ।
चानुवामा आयोजित कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उनीहरुलाई सोलार सिस्टम हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी नगरका हरेक घर उज्यालो बनाउँने उद्धेश्यले उज्यालो नगर अभियान सुरु गरिएको बताए ।
‘अहिले पनि गाउँ–गाउँका केही घरमा बत्ती छैन । बत्ति नहुँदा टुकी बालेर दैनिकी चलाउँनुपर्ने बाध्यता छ ।’ मेयर नेपालले भने–‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कुनैपनि परिवार उज्यालोबाट बञ्चित नहुन् भनेर निःशुल्क सोलार सिस्टम वितरण गर्ने अभियान सुरु गरेका हौं ।’
आफुले पनि विगतमा बिजुली नहुँदा टुकी र सल्लो बालेर पढेको स्मरण गर्दै मेयर नेपालले अब कुनै पनि नगरबासीले यस्तो अवस्था झेल्नु नपरोस् भनेर सोलार वितरण थालिएको बताए । चानुवाबाट सुरु गरिएको यो अभियान नगरका सबै वडामा सञ्चालन गरिनेछ ।
बत्ती बाल्न नपाएका बिपन्न परिवारहरुबाट निवेदन संकलन गरी त्यस्ता परिवारको पहिचान गरेर सोलार सिस्टम वितरण गरिने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।