धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश तथा सहमहामन्त्री सुनिलबहादुर थापाको सम्मान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको जनाएको छ । सो अवसरमा राप्रपाका जिल्ला सदस्यहरु मिनबहादुर कार्की, यज्ञबहादुर कार्की, महेन्द्र निरौला, बुद्धिकान्त घिमिरे, पदम गुरुङ, अशित नरसिंह थापा, पर्शु कार्की, योगेन्द्र कटुवाल, तेजबहादुर विष्ट, राजकुमार राईलगायत २ सय २१ जना राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यस्तै सो अवसरमा नेकपा परित्याग गरी नेकपाका कार्यकर्ताहरु दुर्गा शिवा, गोमा परियार लगायत ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेस केन्द्रिय सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले निर्वाचनमा ओलीको मिठो वोलीले जनता झुक्किएको बताए । उनले प्रधानमन्त्री ओलीले निर्वाचनताका दिएको कुनैपनि प्रतिवद्धता पुरा नगरेको बताए । उनले ओलीले झुटको खेतीमा जनता झुक्किएकाले अब आगामी निर्वाचनमा कांग्रेसका पक्षमा जनमत आउने विश्वास दिलाए ।
सो अवसरमा आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहरनारायाण श्रेष्ठले नेपाली जनताको सच्चा सेवक नेपाली कांग्रेस भएकाले सबै देशभक्त र लोकतन्त्रवादीहरु कांग्रेसको चारतारे झण्डामा गोलबन्द हुने विश्वास दिलाए । उनले कम्युनिष्टहरु काम गर्ने भन्दा कुरा गर्ने पार्टीमा भएको ढिलो भएपनि जनताले थाहाँ पाएको बताए ।
सो अवसरमा प्रदेश सांसद लिला सुब्बा, नेपाली कांग्रेस आदिवासी जनजाति समन्वय समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य रामजी कोङरेन, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य सुमना तिम्सिना, नगर सभापति रोशन श्रेष्ठले नवप्रवेशीहरुलाई स्वागत मन्तव्य राखेका थिए । उनीहरुले दई तिहाई निकट मत प्राप्त गरेपनि कम्युनिष्टहरुले जनताको हितमा भन्दा पदकालागि मरिहत्ते गरिरहेकाले जनता आजित भएकोले अव मुलुकको समस्या समाधान गर्न कांग्रेसले मात्र सक्ने बताए । उनीहरुले सरकारको सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध कांग्रेस सशक्त तवरले जाग्नु पर्ने बताए ।
सो अवसरमा नवप्रवेशीहरुको तर्फबाट युवानेता मदन घिमिरेले कम्युनिष्टहरुको भ्रमको पर्दा उघ्रिएकाले अब सबै लोकतन्त्रवादीहरु कांग्रेसमा समाहित हुनुपर्ने बताए ।