धनकुटा ५ पुस । हालैको अविरल बर्षाले पहिरोपीडित भएका तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । सो राहत सहिद भीमनारायण स्मृति प्रतिष्ठानको अनुरोधमा काठमाण्डौस्थित बौद्ध धर्मावलम्बी गुम्बाको सहयोगबाट प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
सो राहत धनकुटा नगरपालिका वडा नं. ८ याक्ते, वडा नं. ५ र ६, महालक्ष्मी नगरपालिका मूर्तिढुंगाका पहिरोपीडित १३ विपन्न परिवारहरुलाई वितरण गरेका थिए । सो राहत प्रतिष्ठानको तर्फबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, संविधान सभाका सदस्य तथा प्रतिष्ठानका प्रमुख संरक्षक मनोहरनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी पौडेल, महासमिति सदस्य आनन्दसन्तोषी राई, प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, महासचिव रोशन श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, कांग्रेस कोषाध्यक्ष दिनेश राईलगायतले वितरण गरेका थिए ।
राहत याक्तेका इन्द्रहाङ्ग राई, चक्रबहादुर राई, आज्ञाश्वरी राई, सुमन सिंह राई, मनकुमारी राई, बिष्टलाल राई, लिला राईलाई प्रदान गरिएको थिो । यस्तै धनकुटा ६ का ऋतु श्रेष्ठ, मूर्तिढुंगाका स्वर्गीय टंकबहादुर आङ्लाका परिवारलगायत १३ विपन्न तथा पहिरोपीडित परिवारलाई वितरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न राहत वितरण कार्यक्रमको संचालन महासचिव रोशन श्रेष्ठले गरेका थिए ।