धनकुटान्यूज पुष २७ ।
शहीदभूमि गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका विपन्न तथा असहाय विद्यार्थीहरुलाई यो चिसोबाट बच्न स्वीटर वितरण गरेको छ । पालिकाले विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तर्गत यो जाडो मौसममा न्यानो स्वीटरको अभावमा विरामी पर्ने सम्भावनालाई मध्यनजर राख्दै न्यानो स्वीटर हस्तान्तरण गरिएको अध्यक्ष मनोज राईले जानकारी दिए ।
पालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुलाई पालिकाका अध्यक्ष मनोज राईले स्वीटर हस्तान्तरण गरेको हो । सो स्वीटर सामुदायिक विद्यालयमा अध्ययनरत बालबिकासदेखि कक्षा ३ सम्मका सबै विद्यार्थीलाई चिसोबाट सुरक्षित राख्नका लागि भनेर हस्तान्तरण गरेको अध्यक्ष राइले बताए ।
यो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ मा पाँच लाख बजेट विनियोजन गरिएको थियो । सोहि वजेटबाट १ हजार २ सय ७१ थान स्वीटर खरिद गरी पालिका भित्रका ३९ वटा विद्यालयका सबै विद्यार्थीहरुलाई वितरण गरिने गरी हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।
सो स्वीटर सबै विद्यालयहरुले एक हप्ताभित्र विद्यार्थीहरुलाई वितरण गरिसक्न भनिएको छ । आज सोमबार स्वीटर हस्तान्तरण कार्यक्रममा छुटेका ४ वटा विद्यालयहरुलाई चाडै स्वीटर हस्तान्तरण गरिने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।