धनकुटा २४, फागुन । एक सय ११ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमसहित मनाईयो । यसैक्रममा छथरजोरपाटी गाउँपालिकाले एक अगुवा महिला राजनीतिज्ञलाई सम्मान गरेको छ । सो अवसरमा पालिकाले आफ्ना ६ वटै वडाका महिला उद्यमीहरुलाई पुरस्कृत गरेको छ ।
पालिकाले निरन्तर रुपमा राजनीतिमार्फत देश र जनताको सेवा गरेको भन्दै वडा नं. २ की राजनीतिज्ञ महिला धनिमायाँ सिंजालीलाई सम्मान गरेको छ । सम्मानित धनिमायाँलाई कदरपत्र प्रदान गरेको छ । यस्तै पुरस्कृत ६ जनालाई कदर–पत्र र ब्याग पुरस्कार स्वरुप दिईएको थियो ।
यस्तै पुरस्कृत हुनेहरुमा वडा नं. १ का ढाका उद्यमी रवीना लिम्बू, वडा नं. २ बाट ज्याकेट तयारी ब्यवसायी कल्पना दर्लामी मगर, वडा नं. ३ बाट बाख्रापालक महिला कृषक उर्मिला भुजेल रहेका छन् ।
त्यस्तै वडा नं. ४ का सिलाई कटाई ब्यवसायी पार्वता जवेगु लिम्बू, वडा नं. ५ बाट चिप्स तथा कुरमुरे उत्पादक पार्वता संग्रौला ओझा र वडा नं. ६ बाट थुक्पा उद्यमी मेनुका कार्की रहनुभएको छ ।
सम्मानित तथा पुरस्कृत महिलाहरुलाई कार्यक्रमका अध्यक्ष तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले दोसल्ला ओढाएर सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा एक ‘उद्यमी अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम’ को आयोजना गरेर महिलाहरुलाई पुरस्कृत तथा सम्मान गरेको पालिकाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भिमकला श्रेष्ठले जानकारी दिए ।
सो अवसरमार पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले अहिलेको समयमा महिला र पुरुष भनेर विभेद् गर्न नहुने बताए । उनले महिला पनि राष्ट्र निर्माणमा पुरुषभन्दा कम नरहेको बताए । उनले अहिले महिलाहरुलाई राज्यले पुरुष समान व्यवहार गर्दै पुरुष सरह अधिकार दिएकोले अब महिलाहरुले अधिकार माग्नु नपर्ने बताए ।
सो अवसरमा वडाध्यक्षहरुका तर्फबाट वडा नं. ६ का अध्यक्ष दिलबहादुर थापा, पालिका सदस्य गंगामायाँ लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला सुवेदीले राज्यले महिला दिवसहरुलाई आरक्षणको समेत व्यवस्था गरी प्राथमिकतामा राखेको बताए ।
कार्यक्रमको औचित्यका तथा महिला दिवसको बिषयमा पालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिएका थिए ।
सो अवसर पारेर पालिकाले ६ वटै वडाका महिलाहरुका लागि १५ दिने बुटिक तालिमको उद्घाटन पनि गरेको छ । पालिकाले तालिम पछि महिलाहरु स्वरोजगार हुने विश्वास लिएको पालिका उपाध्यक्ष भिमकला श्रेष्ठले बताए ।