धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का नवनिर्वाचित १ नं. प्रदेश अध्यक्ष राजन पौडेलले निर्वाचनमा सहयोग गर्ने सदस्य विद्यालयका संस्थापक प्रिन्सिपलहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
बाँके जिल्लाको नेपालगञ्जमा हालै सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशन तथा दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश नं १ को अध्यक्ष पदमा निर्वाचित भएका पौडेलले आफूलाई विश्वास गरि सहयोग गर्ने सम्पूर्ण सदस्यलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
धन्यवाद दिंदै पौडेलले निजी शिक्षा क्षेत्रमा गुणस्तरीयता बृद्धिको लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । उनले साथै समग्र शैक्षिक क्षेत्रमा सुधारका लागि सबै पक्षको सहयोगको लागि अपिल गर्दै आफुले निरन्तर काम गर्ने प्रतिबद्दता समेत जनाएका छन् ।
लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका पौडेल धनकुटा नगरपालिका वडा नं. ५ बालमन्दिरमा सञ्चालित धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक समेत हुन् ।
नेशनल प्याब्सन धनकुटाका संस्थापक अध्यक्ष रहेर उनले २ कार्यकाल जिल्ला अध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका छन् ।
उनले समग्र निजी विद्यालयको गुणस्तर बृद्धि तथा धनकुटा जिल्लाकै शैक्षिक गुणस्तरको बृद्धिमा उल्लेखनीय काम गरेका छन् ।
पौडेलले यस अघि देश संघिय शासन ब्यवस्थामा गएपछि परिवर्तन भएको नेशनल प्याब्सनको विधान अनुसार प्रदेश नं १ को संस्थापक सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । पौडेललाई जिताउन लागि परेका नेसनल प्याब्सन धनकुटा अध्यक्ष दिनेश भण्डारी लगायत सम्पूण जिल्ला समिति पदाधिकारी तथा सदस्यहरुलाई धन्यबाद ज्ञापन गरेका छन् ।