धनकुटा । युएनडिपी, पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा धनकुटाको महालक्ष्मी नगरपालिकाका ७ सय २ घरमा कृषक लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ ।
कोरोना मारमा परेका कृषकको जीवन उकास्न महालक्ष्मी नगरपालिकाको वडा नं. २, ३ ४, ५ र ६ मा यो कार्यक्रम सञ्चालन हुने पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले बताउँनु भयाे ।
कार्यक्रममा दिइएको जानकारी अनुसार ५ सय घरधुरीमा टनेल निर्माण, प्लाष्टिक पोखरी निर्माण तथा ठाउँ अनुसार केराखेती, आँप खेती, बेसार खेतीलाई अनुदान वितरण हुने भएको छ।
यस्तै गाईपालनका लागि अनुदान, च्यापकटर वितरण, बाख्रापालनका लागि खोर निर्माण सहयोग गरिने भएको छ । कार्यक्रमले विदेशबाट फर्केका युवालाई प्राथमिकता दिने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनुभयो ।
सन २०२२ मार्च १६ देखि सुरु भएको कार्यक्रम सन् २०२३ मार्च १५ मा सम्पन्न हुने भएको छ। जसका लागि महालक्ष्मी नगरपालिकाको १ करोड ५० हजार र युनएनडिपीको १ करोड ३२ हजार ७ सय ५० रुपैयाँ लगानी हुने भएको छ । कार्यक्रमको सहजीकरण पर्डेप नेपाल धनकुटाले गर्नेछ ।