धनकुटा । धनकुटा नगरपालिकाका आज सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेको छ । याे सँगै धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको स्पष्ट बहुमत भएको छ ।
गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया श्रेष्ठ, मनकला लिम्बु, रेजिना हिङमाङ, ज्ञानु राई र दलित वा अल्पसंङख्यक तर्फ सुरेन्द्र आठपहरिया, भोगेन्द्र आठपहरिया र दिल कुमार चाम्लिङ्ग लाई विजय हुनु भएकोले गठबन्धनले बहुमत प्राप्त गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकटा नगर संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा नगर कार्यपालिकामा गठबन्धनको तर्फबाट आठै जना विजयी कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ्ग, नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती, सचिव खगेन्द्र विष्ट, जसपा धनकुटाका जिल्ला उपाध्यक्षद्वय विकास घिमिरे, पार्वती राई, जिल्ला सविच श्रीराम रायमाझी लगायतले खादा माला तथा टिका लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६ का वडाध्यक्ष मिलन कुमार खड्गी, वडा नं. ७ का वडाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य रोशेष श्रेष्ठ, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल लगायतले समेत फुल माला खादा लगाएर बधाई दिनुभएको थियो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँच जना वडाध्यक्ष सहित २६ जना नगर परिषद् सदस्य र नेकपा एमालले मेयर, उपमेयर र वडाध्यक्ष पाँच जना सहित २५ जना नगर परिषद् सदस्य विजयी प्राप्त गरेका थिए ।
धनकुटा नगर पालिकाकाको आज सम्पन्न निर्वाचनपछि २० सदस्यीय कार्यपालिकामा गठबन्धनको १३ जना र नेकपा एमालेको ७ जना मात्र र ५४ जना नगर परिषद सदस्यहरुमा गठबन्धनको २९ जना र नेकपा एमालेको २५ जना मात्र भएकोले धनकुटा नगर कार्यपालिकामा र धनकुटा नगर परिषद सदस्यमा गठबन्धनको स्पष्ट बहुमत भएको हो ।
धनकुटा नगर पालिकाकामा गठबन्धनले नगर कार्यपालिका र नगर परिषदमा बहुमत प्राप्त गरेपछि नेकपा एमाले अल्पमतमा परेको छ । गठबन्धनको सहमति बिना कार्य संचालन गर्न सहज नहुने बताइएकाे छ ।