धनकुटा । १० औं फुड फेस्टिवलको अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको छ ।
साँगुरीगढी गाउँपालिका कृषि विकास शाखा मार्फत गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी सुरु भएको हो ।
कृषि मेला प्रदर्शनीको औपचारिक उद्घाटन प्रदेशसभा सदस्य माननीय निरन राई र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।
मेलामा खाद्यान्न वाली, दलहन वाली, नगदे तथा औद्योगिक वाली, फलफूल वाली, तरकारी वाली, आलु वाली र विविध वाली गरि ७ प्रकारका कृषि वालीहरु प्रदर्शनीमा राखिएको छ ।
पहिलो दिन १ सय २२ जना किसानहरुले कृषि वाली दर्ता गराएको कृषि विकास शाखा प्रमुख राजीव पाख्रिनले बताए । उनका अनुसार भोली अर्थात पुस १७ गतेसम्म किसानले वाली दर्ता गर्न सक्नेछन् । भेडेटार फुड फेस्टिवलको समापनको दिन आगामी पुस १८ गते किसानले प्रदर्शनीमा ल्याएका वालीको मुल्याङ्ककन गरि पुरस्कृत गरिनेछ ।
हरेक वालीको वेग्लावेग्लै मुल्याङ्कन गरिनेछ । हरेक प्रकारका वालीमा पहिलो हुने किसानलाई नगद पाँच हजार सहित प्रमाण पत्र, दोस्रो हुनेलाई नगद चार हजार रुपैया र प्रमाणपत्र, तेस्रो हुनेलाई तीन हजार र प्रमाण, सान्त्वना स्थान प्राप्त गर्ने किसानलाई दुई हजार र प्रमाण पत्र प्रदान गरिने पाख्रिनले बताए ।
स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने र देखेर विश्वास वढ्छ भन्ने सिद्धान्तमा आधारित रहेर कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार कृषि मेलालाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । केही वर्ष अघि कृषि मेलाको आयोजना भएपनि त्यसपछि विश्वभरि महामारिको रुपमा फैलिएको कोभिड–१९ को कारण स्थगित भएको थियो ।