धनकुटा । निःशुल्क जग्गा दिने तीन जना जग्गादाताहरुलाई साँगुरीगढी गाउँपालिकाले सम्मान गरेको छ । १० औं भेडेटार फुड फेस्टिवल उद्घाटन समारोहको अवसरमा शनिवार आयोजित कार्यक्रममा जग्गादाताहरुलाई गाउँपालिकाले सम्मान गरेको हो ।
जग्गादाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय निरन राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले संयुक्त रुपमा सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानित हुने जग्गादाताहरुमा मिनकुमार लिम्बु, पूर्णवहादुर वस्नेत र देव इवाहाङ्ग रहेका छन् । सम्मानित जग्गादाताहरु मध्ये सुनसरी जिल्ला धरान उपहानगरपालिका वडा नं. १० नारायण चोक वस्ने मिनकुमार लिम्बु र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १६ जनपथ वस्ने पूर्णवहादुर वस्नेत (लक्ष्मण) को संयुक्त नाममा रहेको साविक भेडेटार गाउँ विकास समिति वडा नं. ४ हाल साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारमा रहेको कित्ता नं. ९३९ मध्येबाट साँगुरीगढी गाउँ कार्यपालिकाको कार्यालय भेडेटार धनकुटालाई कार्यालय भवन निर्माणका लागि क्षेत्रफल ६ आना २ पैसा जग्गा निल्शुल्क प्रदान गरेका थिए ।
त्यस्तै हाल साँगुरीगढी गाउँपालिका वडा नं. ६ लेउतीटार वस्ने समाजसेवी देव इवाहाङ्गले भेडेटार स्थित सार्वजनिक शौचालय नजिक रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माण गर्नका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरेका थिए । जग्गादाता ईवाहाङ्गले प्रदान गरेको जग्गामा चाँडै नै कोसेली घर निर्माण गरिने पालिका अध्यक्ष राईले बताए ।