धनकुटा । नवनिर्वाचित प्रदेश नं. १ प्रदेशसभा सदस्य माननीय इन्दिरा थापाले विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेकी छिन् ।
आइतवार एक कार्यक्रमका वीच प्रदेशसभा सदस्य थापाले केयर वुमन नेपाल मार्फत धनकुटा नगरपालिका वडा नं. ६ पात्लेखोला स्थित वागेश्वरी आधारभूत विद्यालयमा अध्ययतरत ३१ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर, टोपी जस्ता न्यानो पोशाक वितरण गरेकी हुन् ।
सोही कार्यक्रममा स्थानीय ४ जना विपन्न व्यक्तिलाई ब्लाङ्केट, टाउटर, स्वीटर लगायत न्यानो कपडा समेत वितरण गरेकी थिइन् ।
कार्यक्रममा वोल्दै माननीय थापाले जाडोको बेला विद्यार्थीहरुलाई पठन पाठन गर्न सहज होस् भन्ने उद्देश्यले वितरण गरेको बताइन् । सोही कार्यक्रममा माननीयसँग स्थानीय अभिभावकले विद्यालय सम्म पुग्नका लागि सडक निर्माण गरिदिन माग गरेका थिए । सो अवसरमा माननीय थापाले सडक निर्माणको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
केयर वुमन नेपालकी अध्यक्ष इन्दु दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका ६ नं. वडाका वडाध्यक्ष मिलनकुमार खड्गीको उपस्थिति समेत रहेको थियो ।