धनकुटा । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ । गाउँपालिका भरिका १ देखि १० वडाहरुमा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र समेत हो । गाउँपालिकाको २२ लाख रुपैयाको लगानीमा निर्माण हुने कोसेली घरको लागि जग्गा समेत प्राप्त भइसकेको उनले बताए ।
स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजारमै रहेको सार्वजनिक शौचालय भन्दा मास्तिरको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका छन् । कोसेली घरको भवन भुकम्प प्रतिरोधात्मक क्रंक्रिट ब्लकबाट निर्माण हुने इन्जिनियर दिपक राईले बताए । दुई तल्लाको हुने भवनमा माथिल्लो तलामा पालिका भरि उत्पादन हस्तकलाका सामाग्री तथा कृषि जन्य वस्तुलाई मिनिमाटको विक्री राखिनेछ । त्यस्तै गाउँपालिका भरिका विभिन्न पर्यटकीय स्थलहरुको वारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको समेत स्थापना गरिनेछ । अगाडी विक्री कक्ष भए पनि पछाडिको भागमा चिया तथा कफी क्याफे हुनेछ ।
कोसेली घरमा आउने पाहुनाहरुले गाउँपालिका भरि उत्पादन हुने कफी तथा चियाको स्वाद लिन पाउनेछन् । आगामी तिन महिना भित्र निर्माण सम्पन्न गरि चालु आर्थिक वर्ष भित्र कोसेली घर संचालनमा आउने गाउँपालिका अध्यक्ष राईले बताए