धनकुटा । “पुरानो गाउँ क्या राम्रो ठाउँ, चञ्चले नानी क्या, राम्रो वानी” भन्दै स्टेज उक्लिएका चर्चित गायक तथा संगीतकार यशकुमारले सांगितिक प्रस्तुति मार्फत आइतबार धनकुटा महोत्सवको स्टेज तताए ।
माघको चिसोलाई प्रवाह नगरी साँगितिक प्रस्तुती हेर्न आएका दर्शकलाई दर्जनभन्दा वढी गित गाएर यशकुमारले भरपुर मनोरञ्जन दिए । एक पछि अर्को गित प्रस्तुत गरिरहँदा दर्शकले ताली र हुटिङ मार्फत साथ दिएका थिए ।
गायक यशकुमार सँगै दर्शकले पनि गित गाएका थिए । उनले ‘मैले छोएको पानी चल्दैन’, ‘हिजो अर्कैसँग देखे’, उनी अभिनित चलचित्र आधिवाटोको ‘मायाको डोली’ सँगै चलचित्र बाटोमुनिको फूलको चर्चित गित ‘तिमीलाई कुनै पल’, ‘तुलसी आँगनमा रोपौंला’ गीत गाउँदै साँगितिक प्रस्तुतिलाई विट मारेका थिए ।
धनकुटा महोत्सवको स्टेश मार्फत उनले दोस्रो पटक धनकुटा आएको बताए । यसभन्दा अघि २५ वर्ष अगाडि धनकुटा आएको उनले बताए । दोस्रो पटक आउँदा पनि धनकुटेली दर्शकहरुको भरपुर माया प्रति धनकुटालाई साँंगितिक प्रस्तुतिको क्रममा वेला–वेला धन्यवाद दिइरहन्थे ।
गायक यशकुमारको साँगितिक प्रस्तुति अगाडि संगिताकार तथा गायक कृष्णभक्त राई र जुनि खालिङ राईले आफ्ना चर्चित गितहरु गाएका थिए । गायक यशकुमारसँगै कृष्णभक्त राई र जुनी खालिङ राईलाई आयोजक धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष तारा तितुङ लगायतले मायाको चिनो प्रदान गरेका थिए ।
गत माघ ६ गतेदेखि धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा सुरु भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी, एभोकाडो एवम् पाँचौं धनकुटा महोत्सव आगामी १६ गतेसम्म संचालन हुनेछ । हरेक दिन चर्चित राष्ट्रिय कलाकारको साँगितिक प्रस्तुती रहने महोत्सव आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष विजयसन्तोषी राईले बताए ।