धनकुटा । कप्तान नविन माझीको एक मात्र निर्णायक गोलको मद्दतले आयोजक निलो कुसेटारमा जारि चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न क्वाटरफाइनल खेलमा आयोजक निलोले तुङ्खा फुटवल क्लवलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्यो । उक्त खेलको म्यान अफ द म्याच आयोजक निलोका खेलाडी इनाम तामाङ घोषित भए ।
त्यस्तै आजै सम्पन्न खेलमा मूलघाट फुटवल क्लवलाई ४–१ गोलअन्तरले पराजित गर्दै तिलिगाउँ पनि अघिल्लो चरणमा प्रवेश गरेको छ । भेडेटार फुटवल क्लव पनि सिर्जनशील फुटवल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो । पिङ्बुङ फुटवल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै चिम्रा फुटवल क्लवले पनि अघिल्लो चरणको यात्रा तय गर्यो ।
धनकुटा सहित तेह्रथुम र सुनसरीको गरी २३ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ३० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
श्रीपंञ्चमीको बेला कुसेटार लाग्दै आइरहेको सरस्वती बजारको अवसर पारेर विगत ४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता संचालन गर्नको लागि साँगुरीगढी गाउँपालिका र ३ नं वडा कार्यालयले पनि सहयोग गरेको छ । त्यस्तै स्थानीय वासिन्दा तथा कुसेटार घर भई रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका व्यक्तिहरुवाट पनि सहयोग प्राप्त भइरहेको आयोजकले जानकारी दिएको छ । २५ गतेसम्म कुसेटारको खेल मैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।