धनकुटा । सनिल तामाङको दुई गोलको मद्दतले आयोजक निलो साँगुरीगढी गाउँपालिका वढा नं. ३ कुसेटारमा जारि चौथो सरस्वती फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न सेमिफाइनल खेलमा पिवाइसी सहिदभूमि–७ चिम्ह्रा फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा दुई गोल गर्ने सनिल म्यान अफ द म्याच घोषित भएका थिए ।
त्यस्तै आजै सम्पन्न क्वाटर फाइनल खेलमा आयोजक रातोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भेडेटार फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । भेडेटारले आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय भित्र दुवै टिमले एक÷एक गोल गर्दै खेल वरावरीमा टुंगाएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा भेडेटारले वाजी मार्दा आयोजक रातो निराश हुन पुग्यो । खेलको म्यान अफ द म्याच भेडेटारका राजिप खड्का घोषित भए ।
दोस्रो क्वाटरफाइनल खेलमा तिलिगाउँ फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सदाम फुटवल क्लव सेमिफाइनमा प्रवेश गरेको छ । सदामको लागि खेलको एक मात्र निर्णायक गोल अर्जुन माझीले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषणा भएका थिए ।
फाइनल प्रवेशको लागि सदामले भेडेटार फुटवल क्लवसँग प्रतिस्पर्धा गर्नेछ । भेडेटार फुटवल क्लव आयोजक रातोलाई पराजित गर्दै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यी दुई क्लव वीचको खेल भोली वुधवार ११ बजे कुसेटार खेल मैदानमा हुनेछ ।
सेमिफाइनलमा विजयी हुने टिम उपाधीको लागि आयोजक निलोसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक निलो सहिदभूमिको चिम्ह्रा फुटवल क्लवलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल वुधवार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।