धनकुटा । तेलवालीको आयातमा न्यूनिकरण गरि कृषकहरुलाई स्वरोजगार प्रदान गर्दै आर्थिक उपार्जनमा टेवा पु¥याउने उद्देश्यले साँगुरीगढी गाउँपालिकाले तोरी उत्पादन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रम अन्र्तगत साँगुरीगढी गाउँपालिका वडा नं. ८ को तातोपानी क्षेत्रका कृषकलाई स्थानीय लोकल र हाईब्रिड जातको विउँलाई परिक्षणको रुपमा खेति गर्न वितरण गरिएको साँगुरीगढी गाउँपालिका कृषि शाखाका कृषि विकास अधिकृत राजीवकुमार पाख्रिनले धनकुटान्यूज अनलाइनलाई बताए ।
गतमाघ २५ गते वुधवारका दिन गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुर, कृषि विकास अधिकृत राजीव कुमार पाख्रिन, कृषि प्राविधिक हरिबहादुर आलेमगर लगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।
तातोपानी गाउँमा रहेको तातोपानी कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ६६ घरधुरी कृषक सदस्यहरुलाई गाउँपालिले ८० प्रतिशत अनुदानमा स्थानीय र उन्नत जातको तोरीको विउँविजन उपलब्ध गराएको थियो । २० प्रतिशत सहकारी संस्था मार्फत कृषकको लागत साझेदारी रहेको थियो । प्रतिकृषक घरधुरीले न्यूनतम डेढ देखि ८ रोपनी क्षेत्रफलमा तोरीको खेति गरेका छन् ।
स्थानीय र हाइव्रिड जातको विउ परिक्षणको लागि खेति गरिएको थियो र उत्पादन हाइव्रिड जातको विउको राम्रो देखिएको कृषि विकास अधिृकत पाख्रिनले बताए । उनका अनुसार कुल ६६ घरधुरीमध्ये ३६ घरधुरीले हाइव्रिड र ३० घरधुरीले लोकल जातको तोरी विउँ लगाएका थिए । कृषकलाई गाउँपालिकाले कात्तिकमा विउ उपलब्ध गराएको थियो । कृषकले कात्तिक देखि मंसिर पहिलो साताभित्रमा खेति गरेका थिए । उत्पादनको हिसावले मंसिरमा भन्दा कात्तिकमा गरेको खेतिवाट उत्पादन बढी देखिएको उनले बताए ।
यता गाउँपालिका अध्यक्ष जितेन्द्र राईले तातोपानी क्षेत्रलाई तोरी जोनको रुपमा विकास गर्ने बताए ।
