धनकुटा । धनकुटा महोत्सव संचालनको क्रम ठेलमठेल हुँदा घाइते भएका सबै विरामीहरुको उपचार भई अस्पतालबाट डिस्चार्ज भएका छन् । गत माघ १४ गते शनिवार वेलुका पौने ८ बजे चर्चित गायक प्रमोद खरेलको साँगितिक प्रस्तृति हुने क्रममा गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालय तर्फ रहेको प्रवेशद्वारमा अनियन्त्रित भीडको कारण ठेलमठेल हुँदा ३१ जना दर्शक घाइते भएका थिए ।
घाइते भएका उनीहरुलाई धनकुटा स्थित जिल्ला अस्पताल, धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न लगिएको थियो । सबै घाइतेहरु उपचार पछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए । उनका अनुसार घाइते मध्ये सबै भन्दा गम्भिर विरामी धनकुटा–५ निवासी अभिहाङ लिम्बू थिए । उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारत थिए । उनको पनि शनिवार डिस्चार्ज भएको उनले बताए । टाउको चोट लाग्दा शल्यक्रिया गरिएको थियो ।
त्यस्तै १८ जना घाइतेहरु विपीमा उपचाररत थिए । उनीहरुको पनि डिस्चार्ज भइसकेको छ । धनकुटा अस्पतालमा उपचाररत १० जनाको पनि केही दिन अगाडी नै डिस्चार्ज भइसकेको छ ।
घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च धनकुटा उद्योग वाणिज्य संघले व्यहोरेको सचिव श्रीराम रायामाझीले बताए । घाइतेको उपचारको लागि भन्दै गायक प्रमोद खरेलले पारिश्रमिक बापत प्राप्त रकम आयोजकलाई फिर्ता गरेका थिए । भने धनकुटा नगरपालिका वडा नंं ३ का वडाध्यक्ष विकास घिमिरेले पनि एक महिना बापत प्राप्त हुने सेवा सुविधा उद्योग वाणिज्य संघलाई प्रदान गरेका थिए ।
गतमाघ ३ देखि १६ गतेसम्म धनकुटा –५ स्थित तल्लो टुँडिखेलमा धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सव–२०७९ संचालन भएको थियो ।