धनकुटा । बजारबाट संकलन गरि ल्याइएको फोहोरलाई छुट्याएर व्यवस्थापन गर्ने उद्देश्य सहित धनकुटा नगरपालिकाले धनकुटा–६ स्थित फोहोर मैला व्यवस्थापन केन्द्रमा फोहोर मैला छुट्याउने घर (सेग्रिगेशन सेड) गरिने भएको छ ।
पर्डेप नेपालमार्फत युएनडिपीसँगको साझेदारीमा धनकुटा नगरपालिकाले २४ लाख ४० हजार रुपैयाको लागतमा फोहोर मैला छुट्याएर व्यवस्थापन गर्न सकिने खालको फोहोर मैला छुट्याउने घर (सेग्रिगेशन सेड) निर्माण गरिन लागिएको हो । अहिले निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको काम उपभोक्ता समिति मार्फत गरिएको छ । स्थानीय उद्धवकुमार अत्रीको अध्यक्षतामा सात सदस्यीय फोहोर मैला व्यवस्थापन उपभोक्ता समिति गरिएको छ ।
पर्डेप नेपाल मार्फत युएनडिपीको १५ लाख, धनकुटा नगरपालिकाको ६ लाख ९५ हजार १ सय र स्थानीय जनसहभागिता २ लाख ४४ हजार ६ सय २६ रुपैया लागनी रहेको छ । गत पुस ११ गते देखि सुरु भएको उक्त योजना आगामी फागुन ३० गतेभित्र सम्पन्न भइसक्ने पर्डेप नेपालका कार्यक्रम संयोजक मीन सुवेदीले बताए ।
फोहोर मैला संकलन केन्द्रमा संकलित फोहोर खुल्ला ठाउँमा राखेर छुटयाउने गरिन्थ्यो । जसको कारण वर्खाको वेला फोहोर मैला व्यवस्थापनमा समस्या हुँदै आइरहेको थियो । फोहोर मैला छुट्याउने घर निर्माण भएपछि व्यवस्थापनमा खटिएका कर्मचारीलाई काम गर्न सहज हुने उनले बताए ।
सेग्रिगेशन सेड निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले बजार क्षेत्रबाट ट्याक्टरमा ल्याएको फोहोरलाई राखेर त्यहाँबाट प्लाष्टिक, सिसा, वोतलहरु छुट्याइन्छ । र कुहिने वस्तुलाई पुरिन्छ ।
२०६६ सालमा करिव ३० रोपनी क्षेत्रफलमा फोहोर मैला व्यवस्थापन केन्द्रको स्थापना भएको हो । अहिले नगरक्षेत्रका मुख्य चोक तथा बजारबाट दैनिक ११ टन फोहोर संकलन गरि केन्द्रमा ल्याएर व्यवस्थापन गरिन्छ ।
सोहि कार्यक्रम अन्र्तगत समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रम संचालन गरिएको छ । सचेतना कार्यक्रममा नगरक्षेत्रका वडा नं. १, ५, ६ र ७ का १६ सय जना सहभागी भएको नगरपालिका फोहोरमैला व्यवस्थापन कार्यक्रमका संयोजक खिन्द्र अधिकारीले बताए । उनका अनुसार समुदाय स्तरका १२ वटा कार्यक्रम संचालन भएको र त्यसमा ५ सय ७८ जना स्थानीय सहभागी भएका थिए ।
त्यस्तै तीन वडाका १७ वटा विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । १७ विद्यालयका १ हजार १३ जना विद्यार्थी सहभागी थिए । कार्यक्रममा फोहोटरको उत्पादन घटाउने तरिका, कुहिने फोहोरलाई घरमै कसरी व्यवस्थापन गर्न सकिन्छ र नकुहिने फोहोर छुट्याउने तरिका वारे सहजीकरण गरिएको थियो ।
कार्यक्रम संयोजक अधिकारीका अनुसार अहिले तीन वडाका १ सय १० सार्वजनिक स्थलमा डस्वीन राख्ने काम भइरहेको छ । आगामी दिनमा कुहिने तथा नकुहिने फोहोरलाई वेग्ला वेग्लै राख्ने गरि करिव १५ सय डस्वीन वितरण गर्ने तयारी भइरहेको छ । त्यस्तै फोहोर मैला व्यवस्थापन केन्द्रमा काम गर्ने कर्मचारीलाई यसै कार्यक्रम अन्र्तगत सुरक्षा पोशाक (पन्जा, मास्क, चस्मा, ट्याक सुट) वितरण गरिने उनको भनाई छ ।