धनकुटा । डेढ वर्षदेखि साउदीकाे जेलमा रहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्धता व्यक्त गरेका छन् । साेमवार विहान दिनेशका वुवा गणेशकुमार कार्की, समाजसेवी महेन्द्र न्यौपाने, धनकुटाका जनप्रतिनिधि मनोज रायमाझी (सन्दिप) लगायतको टोलीले वालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराए । भेटमा प्रधानमन्त्रीले वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील रहेको बताए । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।”
चौविसे गाउँपालिका वडा नं. ४ का २९ वर्षीय कार्की जरिवाना रकम तिर्न नसक्दा विगत डेढ वर्ष देखि साउदीमा जेलजीवन विताइरहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा उनि साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम गर्न ५ वर्ष अघि पुगेका थिए ।
यता समाजसेवी महेन्द्र न्यौपानेले दिनेशलाई छुटाउन नेपाली राजदुतावास मार्फत कुटनीतिक पहलसँगै आर्थिक सहयोग जुटिरहेको बताए । देश तथा विदेशमा रहेका नेपाली दाजुभाईले दिनेशलाई छुटाउन आर्थिक सहयोग गरिरहेका छन् । दिनेशको आमा दुर्गाकुमार कार्कीको नाममा माछापुच्छ्रे वैंक धनकुटा शाखामा खाता खोलिएको छ । उक्त खातामा हालसम्म ५ लाख ५ हजार सहयोग रकम जम्मा भइसकेको छ ।