काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ । उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनी बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका थिए । शाहले पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताइएको छ ।
पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उनले उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
पल शाहविरुद्ध एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला केही महिना अगाडी गरेको थियो । जिल्ला अदालत तनहुँले पनि अभिनेता शाहलाई सफाइ दिएको थियो ।