धनकुटा । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आगामी फागुन २८ गते जिल्ला अस्पताल धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
अन्तरपाटी महिला संजाल धनकुटाको आयोजना, धनकुटा नगरपालिकाको विशेष सहयोग, जिल्ला अस्पताल धनकुटाको सहयोग तथा झापाको विर्तामोड स्थित वि एण्ड सि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा आगामी फागुन २८ गते वृहत निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।
नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा वुधवार पत्रकार सम्मेलनको आयोजना गरेर अन्तरपाटी महिला संजाल धनकुटाले स्वास्थ्य शिविर वारे जानकारी दिएको हो ।
कार्यक्रममा वोल्दै महिला संजालकी अध्यक्ष अम्विका धमलाले शिविरमा सामान्य चिकित्सा सेवा, क्यान्सर रोगको परिक्षण, छाती तथा मुटु रोग सेवा, पेट रोगको परिक्षण, हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, पोस्टेजको परिक्षण तथा उपचार, निःशुल्क औषधी वितरण, नसा तथा स्नायू रोग सेवा, मधुमेह रोग परिक्षण, इएनटी सेवा, इसिजी सेवा, एक्स–रे सेवा, ल्याव सेवा तथा यूएसजी लगायत सेवाहरु उपलब्ध हुनेछन् ।
कार्यक्रममा दिइएको जानकारी अनुसार शिविरमा विशेषज्ञ चिकित्सक सहितको १५ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिनेछन् । शिविर विहान ७ देखि साँझ ५ बजेसम्म सदरमुकामस्थित जिल्ला अस्पताल धनकुटामा संचालन हुनेछ ।