धनकुटा । धनकुटामा पनि ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । धनकुटा नगरपालिकाको आयोजनामा प्रभात फेरी तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
प्रभात फेरीका सहभागिहरुले महिला हिंसा अन्त्य गर, कुरामा होइन काममा ध्यान दे जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धनकुटाको मदनचोकबाट सुरु भएको प्रभात फेरी धनकुटा नगरपालिको हलमा पुगेर कविता प्रतियोगिताको आयोजना भएको थियो ।
धनकुटा नगरपालिका आयोजक रहेको प्रभात फेरीको स्थानीय संयोजन अन्तरपाटी महिला सञ्जाल, हुसाडेक नेपाल, हाम्रो वहुमुखी पाठशाला, महिला पुनस्थार्पना सेवा केन्द्र, पारालिगल समिति र वेष्ट नेपालले गरेका थिए ।
प्रतियोगितामा १६ जनाले भाग लिएका थिए । सहभागिले १ सय १३ औँ महिला दिवसको अवसरमा बनाइएको नारा ‘लैंगिक समानता बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको निरन्तर’ भन्ने शिर्षकमा कविता प्रस्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय महिला दिवस जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन थालिएको हो ।
महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेखका दिन अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइएको छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो ।