साँगुुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिताको उपाधी आयोजक डाँडाबजार फुटवल क्लवले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा रारा फुटवल क्लव राजारानीलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै आयोजक डाँडाबजारले उपाधी जितेको हो । उपाधीसँगै डाँडाबजारले नगद १ लाख ५० हजार रुपैया र ट्रफी हात पार्यो भने उपविजेतामा सीमित रारा फुटवल क्लवले नगद ७५ हजार रुपैया सहित ट्रफीमा चित्त वुझायो ।
दुवै टिमको २/२ गोल भएपछि निर्धारित समय वरावरीमा टुंगिएको थियो । राराको तर्फबाट सरोज लकान्द्री र विरेन चेम्जोङले गोल गरेका थिए । भने डाँडाबजारको तर्फबाट उमेश कार्की रमेश राजवंशीले गोल गर्दै खेल वरावरीमा ल्याएका थिए ।
निर्धारित समयभित्र दुवै टिमवाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा डाँडाबजारको तर्फवाट विपिन लिम्बु, रुपेश याखा, इन्सन राई, रमेश राजवंशी, उमेश कार्कीले गोल गरेका थिए । भने राराको तर्फबाट अमन श्रेष्ठ, सरोज लकान्द्री, विरेन चेम्जोङले मात्रै गोल गरे । निश्चल श्रेष्ठको प्रहार डाँडाबजारका गोलरक्षक रोशन कार्कीले रोकेका थिए ।
प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको थियो ।
डाँडाबजार फुटवल क्लवको आयोजनामा संचालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन् । त्यस्तै ५ नं. वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग रहेको थियो ।