धनकुटा l छथरजोरपाटी गाउँपालिकाले छैठौं स्थापना दिवस मनाएको छ । कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईको प्रमुख आतिथ्यमा छथरजोरपाटी गाउँपालिका धनकुटाको छैठौं स्थापना दिवस मनाएको हो ।
दिवशको अवसरमा बोल्दै प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईले छथर जोरपाटीको विकासका लागि आफुले आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्ने बताए । उनले अहिलेको जनमतका आधारमा प्रदेश १ को नाम कोशी राख्नु पर्ने अवस्था आएको बताउँदै फेरी पनी जनमत बाटै प्रदेशको नाम फेर्न सकिने तर त्यसका लागि संसदमा दुई तिहाइ समर्थन आवश्यक रहेकोले अहिले लाई जनमतको कदर गरिएको बताए ।
दिवशका अवसरमा छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले गाउँपालिकाको चालु आर्थिक बर्षको वितिय प्रगति प्रतिवेदन र गाउँपालिकाले गरेका कामको जानकारी गराउँदै गाउँपालिकाले धेरै नमुना र प्रत्यक्ष नागरिकका सरोकारका बिषयलाई सम्वोधन गर्ने कार्यक्रमहरु संचालन गरि रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ खेवाले राखेकी थिइन । कार्यक्रममा राप्रपा नेता, नेकपा माओवादीकका नेता पदम भण्डारी, नेकपा एमालेका नेता इन्द्रसारु मगर, नेपाली कांग्रेसका नेता पदम भट्टराई लगायतले शुभकामना व्यक्त गर्दै गाउँपालिकाले गर्ने राम्रा काममा पाटीहरुको सदैव सहयोग रहने बताए ।
दिवसको अवसरमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी र नाँच समेत प्रस्तुत गरिएको थियो । स्थापना दिवसको अवसर पारेर छथरजोरपाटी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यकममा अध्यक्ष कप भलिबलका बिजेता र उपबिजेता टिम लाई नगद क्रमश ५० हजार र ३० हजार सहित प्रमाण पत्र, मेडल र ट्रफी वितरण गरिएको थियो । साथै उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृति प्रदान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्था कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गरेका थिए ।