धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दै ६१ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यालयलाई आर्थिक, भौतिक तथा जनश्रमदान मार्फत सहयोग गर्ने अभिभावकलाई सम्मान गरिएको थियो ।
विद्यालयको तर्फबाट अभिभावकहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको पहिलो प्राथमिकतामा शिक्षामा गुणस्तर ल्याउने र प्रविधिमैत्री शिक्षामा जोड रहेको बताए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सूर्य मगरले प्रस्तुत गरेका थिए । विद्यालय व्यावस्थापन समिति अध्यक्ष हरि दिवस खुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक सुवास राईले गरेका थिए ।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष हृदय नारायण राई , कार्यपालिका सदस्य भलकमान राई, शिक्षा शाखा प्रमुख गंगा बहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।