धनकुटा । धनकुटा सदरमुकामस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । धनकुटा नगरपालिका वडा नं-७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको साे प्रेसमा बिहान करिब ६:३० बजेबाट आगलागी सुरु भएको थियो ।
आगलागि भए लगत्तै धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताए । सो प्रेसमा आगलागि हुँदा करिव ५० लाखको क्षति भएको उनले बताए ।
आगो नियन्त्रण भएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आगोले प्रेसको मेसिनसहित अधिकांश सामान जलेका छन् । सोही प्रेसबाट छापाखानाका कामसँगै जनविश्वास साप्ताहिक र धनकुटा जिल्लाबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिका मुद्रण हुँदै आइरहेको थियो ।