धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिको शुक्रवार सम्पन्न बैठकले बैशाख १५ गते भव्यताका साथ नगर सम्मेलन गर्ने निर्णय गरेको छ । भने प्रदेश निर्वाचन क्षेत्रीय र जिल्ला सम्मेलनहरु भव्य रुपमा सम्पन्न गर्न व्यापक तयारी नेपाली कांग्रेस धनकुटाले गरिरहेको छ ।
नेपाली कांग्रेस धनकुटा नगर सम्मेलन बैशाख ९ गते गर्ने निर्णय भएकोमा शुक्रवार बसेको नगर कार्यसमितिको बैठकले विशेष कारण बस उक्त मितिमा गर्न नसकिने भएकोले आगामी बैसाख १५ गते भव्य रुपमा धनकुटा नगर सम्मेलन गर्ने निर्णय भएको नगर सभापति नरेश श्रेष्ठले वताए ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक (ईन्चार्ज) विजयसन्तोषी राई, नगर उपसभापति अभिषेक कर्माचार्य, सचिव लोकेन्द्र खड्का, सहसचिव ज्ञानेन्द्र वस्नेत, सहसचिव शारदा सन्तोषी राई, नगर सदस्यहरु हिरादेवी राई, संगिता राई, नविन घिमिरे, देवेन्द्र राई, गोकुल वाग्ले, वडा नंं ४ का वडा सभापति हरि तिम्सिना, वडा नं. ४ का वडा सचिव अनिता वाग्ले लगायतले नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले नगर भित्र नया ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने वताए ।
कांग्रेसको धनकुटा नगर सम्मेलन भव्य रुपमा सफल बनाउन व्यापक तयरीमा जुट्ने नगर कार्य समिति र १० वटै वडाका सवै वडाका सभापतिहरुलाई परिचालित गर्ने ईन्चार्ज राईले बताए । नेपाली कांग्रेस धनकुटाले यस अघि सवै वडाहरुमा वडा सम्मेलन गरी सकेको बैशाख ९ गते पालिकाहरुको सम्मेलन, बैसाख १६ गते प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलन, बैसाख १८ गते प्रदेश सभा निर्वाचन क्षेत्र २ को सम्मेलन र बैसाख २३ गते जिल्ला सम्मेलन गर्ने भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेस धनकुटाले पालिका, प्रदेश सभा क्षेत्रीयहरु र जिल्ला सम्मेलन भव्य रुपमा सफल बनाउन व्यापक तयारीमा जुटेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले बताए ।