धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिंधुवा बजार नजिक चण्डी पूर्णिमाको दिन मेला लाग्ने भएको छ। हरेक वर्ष लाग्ने रगरगे मेला देशमा भएको द्वन्द्वकालसँगै लाग्न छाडेको थियो ।
त्यसपछि करिब दुई दशक पछि स्थानीयहरुले पुनः सञ्चालनमा ल्याउने भएका हुन् । मेला आयोजक समिति छथर जोरपाटी गाउँपालिका वडा नं.६ ले पत्रकार सम्मेलन गरेर मेलासँगै २२ गते खुल्ला महिला/पुरुष दौड र लिम्बू जातिको धान नाच तथा पालाम गीत प्रतियोगिता गरेर मेलाको शुरुवात गर्ने जानकारी दिएको छ।
जसमा पुरुषका लागि १० किलोमिटर र महिलाका लागि ७ किलोमिटर म्यारथन दौड गराईने आयोजकले जनाएको छ। म्याराथममा पुरुष तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २ सय २५, २० हजार १ सय १५ र १५ हजार १ सय १५ रुपैया र महिला तर्फ क्रमशः १५ हजार १ सय १५, १० हजार १ सय १५ र ५ हजार १५ रुपैयाँ नगद पुरस्कार दिईने वडाअध्यक्ष तथा आयोजक समितिका संयोजक दिपक गुरुङ्गले जानकारी दिए। त्यस्तै धान नाच तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार १ सय १५, १५ हजार १ सय १५ र १० हजार १ सय १५ रुपैयाँ नगद पुरस्कार पाउने छन्।
पहिलेपहिले मेलामा तेह्रथुम, धनकुटा, संखुवासभा लगायतका स्थानबाट डाँडाकाँडा ढाक्नेगरी सयौँको संख्यामा धान नाच्न र पालाम गीत गाउन आउने गरेको ती दिनहरुको सम्झना गर्दै मेलालाई पुनर्जीवित गर्न लागिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए। पुरानो बजार तथा स्थानीय संस्कतिको संरक्षण गरेर सांस्कृतिक पर्यटन प्रवद्धर्नका गर्न मेलाको आयोजना गर्न लागिएको सुब्बाको भनाइ छ।