धनकुटा । शौरव राउतको दुई गोलको मद्दतले मोरङको पथरी फुटवल क्लव राजारानीमा जारी १० औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार राजारानी स्थित पुण्य माविको खेलमैदानमा सम्पन्न खेलमा आयोजक रारा फुटवल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै पथरी फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । दुई पटक लिएको अग्रता जोगाउन नसक्दा आयोजक रारा प्रतियोगिताको पहिलो खेलमा नै वाहिरिन पुग्यो ।
खेलको ९ औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा पथरीका सौरव राउतले गोल गर्दै खेल वरावरीमा ल्याए । ३७ औं मिनेटमा पत्रुस राईले गोल गर्दै अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर राराका वुद्ध लिम्बुले आत्माघाती गोल गर्दै खेल वरावरीमा बनाए । ७२ औं मिनेटमा सौरवले पूनः गोल गर्दै पथरीलाई अग्रता दिलाए । त्यसपछिको खेलमा कुनै गोल हुन नसक्दा पथरी ३–२ गोलअन्तरले विजयी भयो ।
खेलको म्यान अफदी म्याच पथरीका सौरव राउत घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे ।
आइतवार हुने तेस्रो क्वाटर फाइनल खेल झापाको विर्तामोड युनाइटेड क्लव र डाँडाबजार फुटवल क्लव वीच हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए ।
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैया सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैया प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।