धनकुटा । झापाको विर्तामोड युनाइटेड फुटवल क्लवलाई २-० गोलअन्तरले स्तब्ध पार्दै धनकुटाको डाँडाबजार फुटवल क्लव राजारानीमा जारि १० औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतवार दिउँसाे राजारानीस्थित पुण्य माविको खेल मैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डाँडाबजारको जितमा विवेक चौधरी र विदेशी खेलाडी ओसकरले एक/एक गोल गरे । दुवै गोल उनीहरुले पहिलो हाफमा गरेका थिए ।
खेल सुरु भएको ३ औं मिनेटमा ओसकरले गोल गर्दै डाँडाबजारलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा विवेक चौधरीले गोल गर्दै डाँडाबजारको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टिमवाट कुनै गोल हुन सकेन । र डाँडाबजार विर्तामोड युनाइटेड माथि २–० गोल अन्तरले विजयी बन्यो ।
खेलको म्यान अफ द म्याच डाँडाबजारका गोल किपर प्रमिजय गच्छदार घोषित भए । उनले नगद ५ हजार रुपैयासँगै ट्रफी हात पारे ।
डाँडाबजारले फाइनल प्रवेशको लागि तालतलैया एकेडेमी सुनसरीसँग वैशाख २६ गते प्रतिस्पर्धा गर्नेछ । तालतलैया उद्घाटन खेलमा डाँगीहाट यूथ क्लवलाई पराजित गर्दै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सोमवार उदयपुरको गाइघाट फुटवल क्लव र सिराहाको सहलेश क्लव वीच हुनेछ ।
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैया सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैया प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।